ग्लोबल आइएमई बैंक १८औँ वर्षमा, यसरी बन्यो मुलुकको ठूलो बैंक

काठमाडौं । १८औं वाणिज्य बैंकको रुपमा स्थापित ग्लोबल आइएमई बैंक १८औँ वर्षमा प्रवेश गर्दै छ । यही १७ पुसमा बैंक लिमिटेड १७औँ वर्ष पार गरेर १८औँ वर्षमा प्रवेश गर्न लागेको हो। ०६३ मा ग्लोबल बैंक लिमिटेडको नामबाट स्थापना भएकोमा हाल ग्लोबल आइएमई बैंकको नाममा सञ्चालित छ।

२०६३ सालमा स्थापना भएको यो बैंकको १ अर्ब ५० करोड चुक्ता पूँजीसहित स्थापना हुँदा रहेको थियो । बैंकले मर्जर हुदै पहिलो बैंक बन्ने अभियानको सुरुवात २०६८ माघ २० देखि सुरु गरेको थियो। ग्लोबल आइएमईलाई गाभिएर सुरु भएको बैंक मर्जरमा पछिल्लो समय बैंक अफ काठमाडौंलाई गाभेको छ।

यो मर्जर बैंक तथा वित्तीय संस्थाहरुमै सबैभन्दा पहिलो मर्जर थियो। उक्त समयमै लर्डबुद्ध फाइनान्सलाई पनि ग्लोबलले गाभेको थियो। तीन संस्था गाभिएपछि २०६९ असार २५ गतेदेखि ग्लोबल आइएमई बैंकको रुपमा रहेर एकीकृत कारोबार थाल्यो । त्यसपछि सोसल डेभलपमेन्ट बैंकलाई गाभेको थियो भने त्यसको केही समयपछि गुल्मी विकास बैंक पनि गाभेको थियो। कमर्स एन्ड ट्रस्ट बैंकलाई र सन् २०१६ मा दुई संस्था प्यासिफिक डेभलपमेन्ट बैंक र रिलायबल विकास बैंकसँग पनि मर्ज गर्ने प्रक्रिया अगाडि बढाउँदै ठूलो बैंक बन्ने दौडमा लागेको थियो।

मर्जरकै क्रममा हाथवे फाइनान्स पनि ग्लोबल आइएमई बैंकसँग गाभियो। त्यसपछि अर्को वाणिज्य बैंक जनता बैंकसँग मर्जर भयो। नेपालको बैंकिङ इतिहासमा यस मर्जरलाई सबैभन्दा ठूलो र सफल मर्जरका रुपमा हेर्ने गरिन्छ। जनता बैंक र ग्लोबल आइएमईले मर्जरपछि ०७६ मंसिर २० बाट एकीकृत कारोबार सुरु गरेका थिए।

त्यसपछि बैंक अफ काठमाण्डूलाई गाभेर यो बैंक मर्जर इतिहासमा सफल मर्जर बैंकको रुपमा देखिएको छ। चुक्ता पुँजी, निक्षेप संकलन, कर्जा प्रवाहलगायतका वित्तीय सूचकका आधारमा नेपालको सबैभन्दा ठूलो बैंकका रूपमा रहेको ‘ग्लोबल आइएमई बैंक लिमिटेड’स्थापित भएको छ ।

गत असोज मसान्तसम्म बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड (गत आवको बोनस लाभांशसहित ३६ अर्ब १२ करोड), कर्जा प्रवाह तीन खर्ब ७० अर्ब ७३ करोड र निक्षेप संकलन चार खर्ब ४३ अर्ब १६ लाख रहेको छ, यो अन्य १९ वाणिज्य बैंकको तुलनामा सबैभन्दा बढी हो। बैंकको कुल सम्पत्ति पनि सबैभन्दा धेरै छ। गत असोज मसान्तसम्म बैंकको कुल सम्पत्ति पाँच खर्ब ४६ अर्ब २६ करोड ६२ लाख रुपैयाँ रहेको छ। वाणिज्य बैंकहरूमध्ये ग्लोबल आइएमई कर्जा विस्तारमा ८.४२ प्रतिशत र निक्षेप संकलनमा ८.५९ प्रतिशत बजार हिस्सा छ । बैंकले चालू आवको पहिलो तीन महिनामा सरकारलाई ५५ करोड ३६ लाख ७६ हजार आयकर बुझाएको छ, गत आवमा भने दुई अर्ब ८५ करोड चार लाख आयकर बुझाएको थियो।

हाल बैंकले नेपालका ७७ वटै जिल्लामा तीन सय ५५ शाखा, तीन सय ७९ एटिएम, दुई सय ७४ शाखारहित बैंकिङ, ६६ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरका साथै तीन अन्तर्राष्ट्रिय सम्पर्क वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ। बैंकमा कार्यरत करिब चार हजार कर्मचारीले ४५ लाखभन्दा बढी ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्दै आएको छ । बैंकका सबै शाखाहरू पूर्ण-सेवा आउटलेटहरूको रूपमा स्थापित छन् जसले आफ्ना ग्राहकहरूलाई ठूलो दायराको बैंकिङ सेवाहरू प्रदान गर्दछ।

वार्षिकोत्सवका विभिन्न योजना

बैंकले वार्षिकोत्सवको अवसरमा कार्ड तथा मोबाइल बैंकिङमार्फत गरिने कारोबारमा १७ प्रतिशतसम्म छुट तथा एक हजार रुपैयाँसम्म क्यासब्याक दिने योजना पनि ल्याएको छ । साथै, नयाँ खाता खोली ग्लोबल स्मार्ट प्लस प्रयोग गर्ने ग्राहकले एसएमएसमा प्राप्त प्रोमो कोड प्रयोग गरी पहिलोपटकको क्युआर कारोबार तथा मोबाइल रिचार्जमा १७ प्रतिशत वा अधिकतम एक सय ७० रुपैयाँसम्मको छुट प्रदान गर्ने योजना पनि ल्याइएको छ । बैंकले वार्षिकोत्सवको अवसरमा सिएसआरअन्तर्गत मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गरेको छ । अभियानअन्तर्गत बैंकले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सातवटै प्रदेशहरूमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गर्न गइरहेको छ ।

शिविरमा स्त्रीरोगविज्ञले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरू, महिलाको स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सर (भिआइए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधि वितरणलगायतका सेवाहरू निःशुल्क रूपमा उपलब्ध हुनेछन् । प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेको र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गर्नेछ, जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिनेछ ।

बैंकले ४ पुसमा सुदूरपश्चिम प्रदेशमा बाजुरा जिल्लाको गौमुल गाउँपालिकाको दहकोट स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर सञ्चालन गरिसकेको छ । गत शुक्रबार बागमती प्रदेशको भरतपुर महानगरपालिकाको गौरीगन्ज स्वास्थ्य चौकीमा पनि शिविर सञ्चालन गरिसकिएको छ । अब लुम्बिनी प्रदेशमा रैनादेवी छहरा गाउँपालिकाको छहरा स्वास्थ्य चौकीमा १७ पुस, कर्णाली प्रदेशमा वीरेन्द्रनगर नगरपालिको जर्बुट्टा स्वास्थ्य चौकीमा १८ पुस, गण्डकी प्रदेशमा म्याग्दीस्थित अन्नपूर्ण गाउँपालिकाको पोखरे बजारको आधारभूत विद्यालयमा २१ पुस र कोशी प्रदेशमा इलाम नगरपालिकाको मलाटे स्वास्थ्य चौकीमा २८ पुसमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *