काठमाडौं । इन्टरनेट सेवा प्रदायक (आईएसपी)को संगठन आइस्पानले केही दिनअघि पुस १५ गतेपछि देशभर इन्टरनेट बन्द हुन सक्ने चेतावनी दिएको थियो।
भारतबाट आयातित ब्यान्डविथको भुक्तानी गर्न नपाएको र त्यहाँका कम्पनीले सेवा कटौती गर्ने ‘अल्टिमेटम’ दिएको भन्दै आइस्पानले इन्टरनेट बन्द हुन सक्ने चेतावनी दिएको थियो।
टाटा, एयरटेललगायत कम्पनीले नेपालका इन्टरनेट सेवा प्रदायकलाई डिसेम्बर ३१ अर्थात् पुस १५ सम्म बाँकी रकम तिर्न पत्र पठाएका थिए। तर, इन्टरनेट सेवा प्रदायकले करिब साढे दुई अर्ब रुपैयाँ सरकारलाई बक्यौता नतिरेको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विदेशी रकम भुक्तानी गर्न दिन नेपाल राष्ट्र बैंकलाई गर्नुपर्ने सिफारिस रोकेको छ।
सेवा प्रदायकले उक्त बक्यौता आफूहरूले तिर्नु नपर्ने जिकिर गर्दै आएका छन्। यही विवादका कारण रकम तिर्न नसके भारतीय कम्पनीले ब्यान्डविथ उपलब्ध गराउन रोक्ने र नेपालमा इन्टरनेट बन्द हुन सक्ने चेतावनी सेवा प्रदायकले दिएका थिए ।
आइस्पानका अध्यक्ष सुधीर शर्माले तत्काल सेवा अवरुद्ध नगर्न भन्दै भारतीय कम्पनीलाई पत्र पठाइएको बताए। करिब दुई अर्ब रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको उनी बताउँछन्।
आजदेखि इन्टरनेट बन्द हुने हो कि भन्ने प्रश्नमा उनले त्यसो नहुने उनको भनाइ छ।







