आठौँ ‘रियल इस्टेट एक्स्पो’ बिहीबारदेखि सुरु हुने

काठमाडौं । बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा आठौं “रियल इस्टेट एक्स्पो” आयोजना हुने भएको छ । नेपाल जग्गा तथा आवास विकास संघ काठमाडौं र ललितपुरले आयोजना गर्न लागेको मेला पुस १२ देखि १५ गते (२८–३१ डिसेम्बर, २०२३) सम्म रहनेछ ।

संघले अहिलेसम्म ७ वटा रियल इस्टेट एक्स्पो आयोजना गरिसकेको छ । २०७७ मा कोभिड महामारीको कारण एक्स्पो हुन सकेन । २०७८ र २०७९ मा मन्दीको कारण गर्न नसकिएको संघले बताएको छ । घरजग्गा कारोबार बढ्न थालेसँगै एक्स्पो गर्न लागिएको संघले जनाएको छ ।

विगतका वर्षहरुमा आयोजित मेलामा प्रदर्शक तथा अवलोकनकर्ताहरुको उल्लेख्य उपस्थितिसहित मेलाको सफलताले निरन्तर यस प्रकारको मेला आयोजना गर्न हौसला प्रदान गर्दै आएको संघले जनाएको छ । यस पटकको मेलाले सर्वसाधारण सबैमा घरजग्गा व्यवसायको वर्तमान अवस्था तथा यसका समस्या र समाधानका उपायसहित भावी अवसरका विषयमा समूचित सूचना तथा जानकारी उपलब्ध गराई यस व्यवसायलाई समय साक्षेप विकास एवं विस्तार गर्न थप योगदान पुर्याउने अपेक्षा आयोजकको छ ।

मेलामा स्वदेशी तथा विदेशी प्रदर्शकहरुले आ–आफ्ना सेवा तथा उत्पादनहरुको प्रदर्शन गर्नेछन् । यस मेलामा भूकम्प प्रतिरोधी घर तथा अपार्टमेण्ट, जग्गा योजना तथा विकास, निर्माण सामग्रीका उत्पादक तथा विक्रेता, ईन्जिनियरिङ्ग तथा आर्किटेक्चर कन्सल्ट्यान्टका साथै बैंक र बीमा कम्पनीहरु सहभागी हुनेछन् ।

यस मेलामा विद्युतीय सरसामानहरु, फर्निचर, पाईप, सेनिटरी वयर्स फिटिङ, पेन्टस्, सवारी साधन, सजिसजावटका सामान र बीमा, बैंकिङ्ग तथा वास्तुकला जस्ता व्यवसायमा संलग्न व्यवसायीहरुले आ–आफ्ना उत्पादनहरु प्रदर्शन गरी सो सम्बन्धी परामर्श सेवा समेत उपलब्ध गराउनेछन् । साथै, इच्छुक सहभागीहरुले मेला अवधिमा नै आफ्नो उत्पादन तथा सेवाहरुको शुभारम्भ (Product Launch) गर्न चाहेमा सोको समेत व्यवस्था रहनेछ ।

मेलाबाट योजनाबद्ध तरीकाले विकास गरिएको घरजग्गा तथा अपार्टमेण्टहरु खरिद र बिक्रीमा संलग्न सरोकारवाला तथा दर्शकहरुले सुरक्षित एवं व्यवस्थित बसोबासको विकास र मूल्य प्रतिस्पर्धामार्फत उचित मूल्यमा घरजग्गा तथा अपार्टमेण्टहरु बिक्री सम्बन्धमा एकै थलोबाट विस्तृत जानकारी प्राप्त गर्न सकिनेछ ।

संक्षेपमा, घरघडेरी तथा संयुक्त आवास आयोजनामा संलग्न व्यवसायी, लगानीकर्ता, सेवाग्राही उपभोक्ता, निर्माण सामग्री विक्रेता तथा सेवाप्रदायक संस्थाहरुका लागि यो मेला यस पटकको मेलामा कम्तीमा ६५ हजारभन्दा बढी दर्शकहरुले मेलाको अवलोकन गर्ने र ६० भन्दा बढी स्टलहरु रहने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *