हिमालयन बैंकले राष्ट्र बैकलाई डीमर्जबारे जानकारी गरायो

हिमालयन बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर रद्द भएको झन्डै दुई महिनापछि नेपाल राष्ट्र बैंकलाई डीमर्जको पत्र दिएको छ। हिमालयन बैंकले यहि आज नेपाल राष्ट्र बैंकलाई नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर रद्द भएको जानकारी दिएको हो।

स्रोतकाअनुसार बैंकले राष्ट्र बैंकलाई बुझाएको पत्रमा मर्जर रद्द हुनुका कारणबारे जानकारी गरेको छ। २९ औं बार्षिक साधारणसभाले नेपाल इन्भेष्टमेन्टसंगको मर्जर प्रस्ताव अस्वीकृत गरेकाले मर्जर रद्द गर्नु परेको हिमालयन बैंकले बुझाएको पत्रमा उल्लेख गरिएको छ।

नयाँ मर्जर कमिटिमा हिमालयन बैंकबाट विजयबहादुर श्रेष्ठ, राधे कृष्ण पोटे र नेपाल इन्भेष्टमेन्ट बैंकबाट भुवनेश्वर प्रसाद शाह र कबि कुमार टिब्रेवाला रहेका छन्। मर्जरको पक्षमा रहेकाले डीमर्जको प्रस्ताव गर्नुपर्ने मर्जर कमिटिमा बस्नु नैतिकता बिरोधि काम हुने भन्दै यस अगाडी हिमालयन बैंकको तर्फबाट मर्जर कमिटिमा रहेका सुनिल थापा र आशिस शर्माले मर्जर कमिटिबाट राजिनामा गरेका छन्।

कम्पनी ऐनको दफा ७४ को उपदफा ३ मा सभामा उपस्थित शेयरधनीहरु मध्ये पचहत्तर प्रतिशत शेयरको प्रतिनिधित्व गर्ने शेयरधनीले प्रस्तावको पक्षमा मत दिएमा मात्र विशेष प्रस्ताव स्वीकृत हुने व्यवस्था रहेको छ।

हिमालयन बैंकका अध्यक्ष प्रचण्डमान श्रेष्ठ र कर्मचारी संचय कोषले अहिलेकै अवस्थामा मर्जरमा जाँदा हिमालयन बैंकका सेयरधनीलाई प्रति कित्ता २२ रुपैयाँ नोक्सान हुने र संचय कोषका संचयकर्ता सिधै मारमा पर्ने आधार देखाउदै मर्जरको विपक्षमा मत दिएका थिए।

डीमर्जको कारणबारे राष्ट्र बैंकलाई जानकारी गराएको हिमालयन बैंकमाथि तोकिएको समयमा अर्को बैंक प्राप्ति तथा मर्जर गर्नुपर्ने विकल्प रहेको छ। राष्ट्र बैंकले दिएको समयभित्र पनि अर्को संस्था प्राप्ति तथा मर्जर नगरेमा ३ बर्ष लाभांश खान पाउने, शाखा खोल्न नपाउने लगायतका कारबाही भोग्नुपर्ने हुन्छ।

बिजपाटीलाई प्राप्त जानकारी अनुसार नेपाल इन्भेष्टमेन्ट बैंकले पनि आज नेपाल राष्ट्र बैंकलाई डीमर्जको पत्र पठाउने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *