काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमीटेडले लाभांश वितरण गर्ने प्रस्तावसहित २७औं वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले लाभांश वितरणको प्रस्तावसहित आगामी पुस २० गते साधारणसभा आह्वान गरेको हो । कम्पनीको सभा पुस २० गते बिहान ११ बजे भृकुटीमण्डपस्थित राष्टिय सभा गृहमा हुनेछ ।
कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमा ५ प्रतिशतले हुन आउने नगद लाभांश(करसहित) र १० प्रतिशतले हुन आउने बोनस सेयर रहेको छ ।
सञ्चालक समितिको सोही आर्थिक वर्षको प्रतिवेदनउपर छलफल गरी पारित गर्ने, सोही अवधिको वासलात, नाफा नोक्सान हिसाब, नगदप्रवाह विवरण र इक्वीटीमा भएको परिवर्तन लगायतका अजेण्डा समेत सभाले पारित गर्नेछ ।
कम्पनीको प्रबन्धपत्र र नियमावली संसोधन गर्ने, सञ्चालक समितिमा रहने २ स्वतन्त्र सञ्चालकहरुको नियुक्ति वा निर्वाचित हुने विषयमा समेत ठोस निर्णय हुने बताइएको छ ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस ८ गते एकदिनका लागि बुक क्लोज गर्नेछ । यसको अर्थ कम्पनीबाट घोषित लाभांश प्राप्त गर्न तथा सेयरधनीको रुपमा साधारणसभा सहभागी बन्नका लागि पुस ७ गतेभित्र सेयरधनी कायम भइसक्नुपर्नेछ ।







