काठमाडौँ । इजरायल र हमासबीच अक्टोबर ७ (असोज २०) देखि जारी युद्ध शुक्रबारबाट रोकिएपछि पलाएको विपिन जोशीका परिवार आशा खुशीमा परिणत हुन सकेको छैन । हमास समूहले बन्धक बनाएर राखेको इजरायली र विदेशी विदेशी बन्धकहरूको दोस्रो समूहलाई रिहा गर्दा पनि विपिन जोशीलाई भने रिहा गरेको छैन ।
विपिनको अवस्था अझै अज्ञात रहेको छ । हमासले १३ इजरायली र ४ थाई नागरिकलाई मुक्त गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । तर नियन्त्रण मुक्त भएकाको सूचीमा नेपालका विपिन जोशी छैनन् ।
हमासले बन्धकलाई रिहा गरेको केही समयमा नै इजरायलले पनि ३९ प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको थियो।
कतारको मध्यस्थतामा इजरायल र हमासबीच चार दिने अस्थायी युद्धविराम र बन्दी साटफेर सम्झौता भएको थियो । उनीहरुबाट मुक्त गरिएकाहरुलाई अन्तर्राष्ट्रिय रेडक्रस संगठन (आईसीआरसी)को जिम्मा लगाउने गरिएको छ ।
गत अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणमा १० नेपालीसहित १ हजार २०० जनाको ज्यान गएको थियो भने २४० जनालाई उसले बन्धक बनाएको थियो ।
नेपालको कञ्चनपुरका विपिन जोशीलाई पनि बन्धक बनाएको बताइएको छ । तर उनी रिहा हुने/नहुने अझै थाहा हुन सकेको छैन । यद्यपि परराष्ट्र मन्त्रालय र तेल अविवस्थित नेपाली दूतावासका अधिकारीहरुले जोशीको रिहाइका लागि कूटनीतिक पहल जारी राखेको जनाएका छन् ।







