अब सबै एटिएम बुथमा अनिवार्य सिसिटिभी जडान गर्नुपर्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले अब आफ्नो एटिएम रहेको स्थानमा अनिवार्य रुपमा सिसिटिभी क्यामेरा राख्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्रप्राप्त संस्थाहरूलाई भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन –२०८० जारी गर्दै ATM रहेको स्थानमा प्रचलित कानुनी व्यवस्था अनुसार आवश्यक स्वीकृति लिई सिसिटिभी क्यामेरा (cctv Camera) जडान गरी निरन्तर अनुगमनको व्यवस्था गर्नुपर्ने जनाएको छ ।

सिसिटिभी क्यामेरा जडान गर्दा कारोबार गर्ने व्यक्तिको अनुहार प्रष्ट रूपमा देखिनुपर्ने निर्देशनमा उल्लेख गरिएको छ । तर ग्राहकले राखेको पिन अनुमान गर्न र रेकर्ड गर्न नसकिने गरी जडान गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

केन्द्रिय बैंकको भुक्तानी प्रणाली विभागले जारी गरेको एकिकृत निर्देशन अनुसार उक्त सिसिटिभीको रेकर्ड कम्तिमा ९० दिनसम्म सुरक्षित राख्नुपर्नेछ ।

त्यसैगरी, एटिएम बुथहरूमा कुनै व्यक्ति वा समूहबाट शंकास्पद गतिविधि भएको शंका लागेमा यथाशीघ्र संस्थाले तोकेको पदाधिकारी/निकायमा तत्काल सूचित गर्ने व्यवस्था मिलाउनुपर्ने छ ।

कुनै प्राविधिक कारणले ATM नचलेमा, ATM मा पर्याप्त नगद नभएमा, नगद ननिस्किएमा वा अन्य समस्या उत्पत्र भएमा तत्काल सोको सूचना सम्बन्धित ATM सञ्चालन गर्ने संस्थामा पुग्ने व्यवस्था गर्नुपर्ने छ । साथै, सोको सूचना आवश्यकता अनुसार कार्ड जारी गर्ने संस्थामा समेत पुग्ने व्यवस्था मिलाउनुपर्ने छ ।

एटिएम कारोबारसम्बन्धमा ग्राहकलाई तत्काल कुनै जानकारी/सहयोग आवश्यक भएमा सो प्रयोजनका लागि एटिएम रहेको स्थानमा सम्बन्धित कर्मचारीको नाम र सम्पर्क मोबाइल नं. तथा सम्बन्धित संस्थाको नाम, ठेगाना र टेलिफोन नं. नेपाली र अंग्रेजी भाषामा ग्राहकले प्रष्टसँग देख्ने र बुझ्ने गरी राख्नुपर्नेछ । यस प्रकारको विवरण नियमित रुपमा अद्यावधिक गरी सो को अभिलेख समेत राख्नुपर्नेछ ।

बैंक तथा वित्तीय संस्थाले सञ्चालन गरेका ATM को Downtime को कारणसहितको अभिलेख राखी त्रैमासिक रुपमा सोको समिक्षा गर्नुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *