


काठमाडौं । सूर्यज्योति लाइफ इन्स्याेरेन्स कम्पनीले नेपालकै पहिलाे र कम प्रिमियम भएकाे नयाँ बीमा पाेलिसी ल्याएको छ । कम्पनीले आज आयोजित एक कार्यक्रमका बीच ‘सही प्लान’ नामक बीमा योजना सावजनिक गरेको हो ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवाल र सुर्यज्याेति लाइफका अध्यक्ष केशव प्रसाद भट्टराइले संयुक्त रूपमा उक्त पोलिसीको शुभारम्भ गरेका हुन् ।
उक्त योजनाको न्यूनतम बीमांक ५ लाख रुपैयाँको रहेको छ । यो योजनामा सहभागी हुन न्यूनतम १८ वर्षदेखि अधिकतम् ६० वर्ष उमेर पुगेको हुनुपर्छ । भुक्तानी अवधि न्यूनतम ५ वर्षको रहनेछ भने एकल वार्षिक, अर्धवार्षिक र त्रैमासिक भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।
यो योजनामा तिरेको प्रिमियमको ६ गुणासम्मको कभरेज हुनेछ । बीमा अवधिभर तिरेको सम्पूर्ण रकम ७० वर्षको उमेरमा फिर्ता हुनेछ ।
बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले कम्पनीले अरुभन्दा फरक खालको प्रडक्ट ल्याएकोले प्रभावकारी बन्न सक्ने बताए । उनले बीमा कम्पनीहरुले गरीबको पहुँचमा पुग्ने गरी स्किमहरु ल्याउनुपर्ने बताए ।
अध्यक्ष सिलवालले संसार भरी नै बीमालाई हेर्ने दृष्टिकोण फरक भएको भन्दै सरकारले अन्य आर्थिक क्षेत्रलाई जसरी बीमालाई प्राथमिकतामा नराखेको गुनासो गरे ।
उनले भने, ‘यो प्रदेशका सरकारहरुसँग गएर बिमाको बारेमा सबैलाई अवगत गराउन आवश्यक छ किनकी सबै भन्दा समस्या नै के देखिन्छ भने मैले नेपालको मात्र कुरा गरेको होईन संसारभरी नै सबैभन्दा ठूलो समस्या के छ भने । जसरी संसारभरका सरकारले नै बैंक र अन्य आर्थिक क्षेत्रलाई बुझ्छ । त्यो बुझाई बीमाको बारे कुनै पनि सरकारको छैन् ।’
बैंकले रकम रक्षा गर्ने र बीमाले जिवनको रक्षा गर्ने हुँदा बैक र बीमामा ठूलो अन्तर रहेको उनको भनाई छ । कम्पनीले र प्राधिकरणले नै बीमाको राम्रोसँग प्रचार नगरेको उनको गुनासो छ ।
कम्पनीले आज सार्वजनिक गरेकाे नयाँ बीमा पाेलिसी नेपालकै सबैभन्दा सस्ताे बीमा पाेलिसी भएकाे दावी कम्पनीका सीइओ प्रकाश बिक्रम खत्रीले गरे । कार्यक्रममा सिईओ खत्रीले नेपालमा अण्डर इन्स्योरेन्स भइरहेकाे बताउँदै बीमाकाे दायरा अझै बढाउन सकिने बताए ।

अर्थ सन्जाल