जाजरकोट भूकम्पका मृतकमध्ये ७८ बालबालिका

भेरीगङ्गा । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी मृत्यु भएकामध्ये झण्डै आधा सङ्ख्या बालबालिका रहेको पाइएको छ । प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका एक सय ५७ मध्ये ७८ बालबालिका रहेका छन् ।

जाजरकोटमा ५० र रुकुम पश्चिममा २८ जना बालबालिकाको भूकम्पमा परी मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष रोकाले जानकारी दिए। उनका अनुसार दुवै जिल्लामा गरी मृत्यु हुने झण्डै आधा बालबालिका रहेका छन् । जाजरकोटमा मृत्यु भएका एक सय पाँच मध्ये बालक २७ र बालिका २३ जना रहेका रोकाले बताए।

रुकुम पश्चिममा भूकम्पमा परी ५२ जनाको मृत्यु भएकामा २८ बालबालिकाले रहेका जिल्ला प्रहरी प्रमुख नमराज भट्टराईले जानकारी दिए। उनले भने, ‘रुकुम पश्चिममा भूकम्पमा मृत्यु भएकामध्ये अधिकांश बालबालिका छन् । दुईजना १० महिनाका बालबालिकालेसमेत ज्यान गुमाएका छन् ।’

मृत्यु हुनेमा महिला धेरै

भूकम्पमा परी मृत्यु हुनेमा बालबालिकापछि महिला धेरै रहेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जाजरकोटमा मृत्यु भएका एक सय पाँचमध्ये ५०, ३३ जना महिला र १८ जना पुरुषको मृत्यु भएको जाजरकोटका प्रनाउ रोकाले जानकारी दिए । रुकुम पश्चिममा १६ महिला र आठ जना पुरुषको मृत्यु भएको छ ।

बेला बेलामा हुने यस्ता विपद्मा महिला बालबालिका र ज्येष्ठ नागरिकसँगै अपाङ्गता भएका व्यक्ति धेरै समस्यामा पर्ने गरेका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *