काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको आईपीओ निष्काशनको मिति सरेको छ । कम्पनीले पहिलो चरणको वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भोलि (कात्तिक २१ गते) देखि आईपीओ निष्काशन गर्ने जनाएको थियो । तर, आज एक सूचना प्रकाशित गर्दै मंसिर ४ गतेबाट आईपीओ निष्काशन गरिने धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ।
कम्पनीलाई शुक्रबार मात्र प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले हिमालयन रिइन्स्योरेन्सको आईपीओबारे धितोपत्र बोर्डलाई पत्र पठाएर स्पष्टीकरण सोधेको थियो। लगानीकर्ताहरुले हिमालयन रि-इन्स्योरेन्सको आईपीओ अनुमति नियमसंगत नभएको भन्दै समितिमा उजुरी दिएपछि समिले समितिले आईपीओसम्बन्धमा पत्र काट्दै धितोपत्र बोर्डलाई प्रिमियम आईपीओ जारी गर्दा के कस्तो भएको हो ? त्यससम्बन्धी नियमहरु के छन् ? सोसम्बन्धमा तत्काल जवाफसहित एक हप्ताभित्र पत्रको जवाफसहित उपस्थित हुन निर्देशन दिइएको थियो ।
सोही कारणले पनि यो आईपीओको निष्कासन मिति सारेको हुन सक्ने बताइएको छ। तर क्यापिटलले भने तिहारको लामो बिदा पर्न गएकोले लगानीकर्ताको सहजतालाई मध्यनजर गर्दै आईपीओ निष्काशन मिति परिवर्तन गरिएको जनाएको छ ।
कम्पनीले आफ्नो जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँबराबरको आईपीओ जारी गर्ने अनुमति पाएको छ । जसअनुसार कम्पनीले सर्वसाधारणलाई अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर २०६ रुपैयाँमा ३ करोड कित्ता सेयर बिक्रीमा ल्याउनेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई भने कुल सेयरको १० प्रतिशतले हुन आउने ३० लाख कित्ता सेयर बिक्री खुला गरिनेछ। उनीहरुले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। उक्त आईपीओमा अब विदेशमा रहेका नेपाली श्रमिकले आउँदो मंसिर १८ गतेसम्म आवेदन दिन पाउनेछन्।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन्।