काठमाडौं । दशैँको लामो विदापछि खुलेको सेयर बजार पहिलो दिन नै ओरालो लागेको छ । आज आइतबार सेयर बजार मापक नेप्से परिसूचक २८.१८ अंकले घटेर १८७५.६५ विन्दुमा झरेको छ।
यसदिन कारोबार रकम पनि घटेको छ। आइतबार ७४ करोड २९ लाख रूपैयाँको कारोबार भएको छ । दशैँअघिको अन्तिम कारोबारमा ९७ करोड ६ लाख रूपैयाँको सेयर किनबेच भएको थियो ।
कारोबारमा आएका सबै १३ वटा समूहगत परिसूचक घटेका छन्। यस दिन कारोबारमा आएका २८३ कम्पनीको २७ लाख १२ हजार १२३ कित्ता सेयर खरिदबिक्री भएको छ । यसदिन २७ कम्पनीको मात्र सेयर मूल्य बढेको छ २ सय वटाको मूल्य भने घटेको छ।
आइतबारबाटै कारोबारमा आएको सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको सेयर मूल्य १० प्रतिशतले घटेको छ। पहिलो कारोबार तीन सय ५० रूपैयाँबाट भएकोमा बजार बन्द हुन्दासम्म कम्पनीको सेयर मूल्य तीन सय १५ रूपैयाँ कायम भएको छ।
नेशनल हाइड्रो, हाथवे इन्भेष्टमेन्ट, सिटिजन लाइफ इन्स्योरेन्सको सेयर कारोबार सबैभन्दा धेरै भएको छ। यसदिन सिवाईसी नेपाल लघुवित्त र अप्पर सोलु हाइड्रो को सेयर मूल्य सबैभन्दा धेरै वृद्धि भएको छ।