काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको आईपीओ आज शुक्रबार (कात्तिक ३ गते) बाँडफाँट सम्पन्न भएको छ । धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलले आज बिहान ९:३० बजे माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ बाँडफाँट गरेको हो ।
कम्पनीले गते असोज १८ गतेदेखि असोज २२ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले १०० अंकित दरका कुल १२ लाख ८४ हजार २०० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।
यो आईपीओमा कुल ११ लाख ९० हजार २ सय ९६ जनाको आवेदन परेको थियो। जसमध्ये ११ लाख ८५ हजार ६४२ जनाको आवेदनमात्र सदर भएका छन्। बाँकी ४६ सय ५४ जनाको आवेदन बदर भएको छ।
मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसमा भाग्यमानी १ लाख २८ हजार ४२० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। यो हिसाबले सदर आवेदकमध्ये १० लाख ५७ हजार २२२ आवेदकको हात खाली भएको छ।
यो आईपीओ अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धक र आईपीओ निष्कासनकर्ता कम्पनीको वेबसाइट तथा सीडीएससीको iporesult.cdsc.com.np मा गएर हेर्न सकिनेछ।