सिटिजन्स बैंकको अध्यक्षमा प्रवलजंग पाण्डे निर्वाचित

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको अध्यक्षमा प्रवलजंग पाण्डे निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न १७औँ वार्षिक साधारणसभापछि बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई अध्यक्ष पदमा निर्वाचित गरेको हो।

पाण्डे यसअघि बैंकको सञ्चालक थिए । बैंकका संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्दै अध्यक्ष बनेका पाण्डे बैंकका प्रमुख लगानीकर्ता पनि हुन्।
अध्यक्ष चयनपछि उनले बैंकलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिवद्धता जनाएका छन्। उनले बैंकको संस्थागत सुशासनलाई सुदृढ बनाउँदै नयाँ प्रविधिमा आधारित बैंकिङलाई प्राथमिकतामा राख्‍ने र सेवा बिस्तार गर्ने बताए।

यसअघि बैंकको अध्यक्षमा राजनसिंह भण्डारी थिए। त्यसअघि शंकर शर्मा अध्यक्ष भएका थिए।

साधारणसभाले सजन शर्मा र सीता कार्की केसीलाई सञ्चालक चयन गरेको छ। सर्वसाधारणका तर्फबाट प्रकाशचन्द्र मैनाली र विजयध्वज कार्की तथा स्वतन्त्र सञ्चालकमा अनिल ज्ञवाली छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *