काठमाडाैं । एनआईसी एशिया बैंकको २६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७९/८० को मुनाफा तथा सञ्चित मुनाफाबाट कम्पनीको चुक्तापूँजीको २९ % बोनश सेयर र कर प्रयोजनार्थ १.५२६३ % नगद लाभांश गरी कुल ३०.५२६३ % लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।
उक्त साधारण सभाले २९ % बोनश सेयर पारित गरेपश्चात् कम्पनीको कुल चुक्तापूँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँ पुगेको छ ।
सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदनसहित २०८० आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।




