काठमाडौं । मलेसियामा आजदेखि सुरु भएको एसीसी यू-१९ प्रिमियर कप क्रिकेटको पहिलो खेलमा नेपालले इरानलाई ३५४ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४०.१ ओभरमा सबै विकेट गुमाएर ३५३ रन बनाएको हो । कप्तान देव खनालले नेपालका लागि विष्फोटक शतक बनाए ।
अर्जुन कुमार दोस्रो बलमै आउट भए भने तेस्रो नम्बरमा आएका आकाश त्रिपाठीले पनि ९ बलमा ३ रन मात्रै जाेडे । १० रनमै दुई विकेट गुमाएको अवस्थामा देवले ओपनर दिपक बोहोरासँग मिलेर नेपाललाई खेलमा फर्काएका थिए ।
खनालले ६० बलमा १२ चौका र ४ छक्काको मद्दतले शतक पूरा गरेका हुन् । १०० रन बनाएलगत्तै उनी आउट भएका थिए । बोहोरा ५९ बलमा ६५ रन बनाएर आउट भए ।
यस्तै दिपक प्रसाद डुम्रेले ४४ बलमा ६९ रन बनाए । दीपेश कँडेलले २२ बलमा २९ रन बनाए ।




