इजरायलमा रहेका नेपालीहरूलाई लिन परराष्ट्रमन्त्री साउद आफै जाने

काठमाडौं । सरकारले इजरायलमा रहेका नेपालीहरूलाई लिन परराष्ट्रमन्त्री एनपी साउदलाई पठाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले राति ११ बजे जाने नेपाल एयरलाइन्सको विमानमा परराष्ट्रमन्त्रीलाई पठाउने निर्णय गरेको हो ।

बैठकपछि कानुनमन्त्री धनराज गुरुङले भने, ‘नेपाल आउन चाहने नेपालीहरुलाई लिन आज ११ बजे नेपाल एयरलाइन्समा परराष्ट्रमत्री स्वयंम जाने र नेपालीहरुलाई लिएर आउने निर्णय भएको छ ।’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहानै पर्यटनमन्त्री सुदन किरातीसहित नागरिक उड्यन प्राधिकरण र नेपाल वायुसेवा निगमका प्रमुखलाई बोलाएर इजरायल विमान पठाउने व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।

मन्त्रिपरिषद्को बैठकले हाल इजरायलमा रहेका नेपाली नागरिकले व्यवसायिक रुपमा जहाज चढेर आउन चाहे टिकट भाडा सरकारले व्यहोर्ने निर्णय पनि गरेको मन्त्री गुरूङले जानकारी दिए ।

प्यालेस्टाइनी लडाकु समूह हमासले शनिबार इजरायलको दक्षिणी क्षेत्रमा गरेको आक्रमणमा परी १० नेपालीको मत्यु भएको थियो भने ४ जना घाइते भएका छन् । एकजना अझै सम्पर्कबिहीन छन् । त्यहाँ जर्दनौं नेपालीहरू फसेका छन् । उनीहरूलाई लिन आज बुधबार नेवानिको जहाज दुवै हुँदै इजरायल जान लागेको हो ।

शव ल्याउन भने ढिलाइ हुने

इजरायलमा मारिएका १० जना नेपालीको शव ल्याउन भने केही ढिलाइ हुने परराष्ट्र मन्त्रालयले जनाएकाे छ । बुधवार अपरान्ह पत्रकार सम्मेलन गरी परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले इजरायल सरकारले शव हस्तान्तरण गरेपछि मात्रै सो शव नेपाल ल्याउन सकिने बताए ।

प्रवक्ता लम्सालले उनीहरुको शव छिटो ल्याउन सरकारले सहकार्य गरिरहेको र अहिले ती शवहरु इजरायल सरकारको संरक्षणमा सुरक्षित रहेको स्पष्ट पारिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *