काठमाडौँ । गैरआवासीय नेपाली संघ एनआरएनएका उपाध्यक्ष आरके शर्माले एनआरएनए सबै आम नेपालीको साझा चौतारी हुनुपर्ने बताएका छन्।
आगामी अधिवेशनमा अध्यक्षमा उम्मेद्वारी दिएका उनले काठमाडौंमा, सञ्चारकर्मीहरुसँग आफू नेतृत्वमा पुगेर एनआरएनएलाई सशक्त र सम्मानित बनाउन लागिपर्ने प्रतिबद्धता जनाउँदै एनआरएनए सबै नेपालीको सबैको साझा चौतारी हुनुपर्ने बताएका हुन् ।
उनले भने, ‘देशमा आर्थिक क्रान्तिका कार्यहरु गर्न ढिला भइसकेको छ। त्यसैले मेरो नेतृत्वको दाबी भनेको आम एनआरएनए समृद्ध नेपाल निर्माणको बलियो साझेदार हुन चाहन्छ । एनआरएनए आम नेपाली सबैको साझा चौतारी हुनुपर्छ । अहिले धनीको मात्रै संस्था भयो भन्ने आक्षेप लागेको छ । त्यसलाई चिर्न आवश्यक छ । यसमा प्रष्ट भिजन ल्याएर अगाडि आएको छु ।’
यसअघि नै आफूले २ वर्षे कार्यकालमा गर्ने कामको फेहरिस्त सहितको बाचापत्र सार्वजनिक गरिसकेको उल्लेख गर्दै त्यसको प्रभावकारी कार्यान्वयनमा आफ्नो जोड रहने प्रतिबद्धता जनाए ।
वैधानिक च्यानलबाट रेमिट्यान्स आउने व्यवस्था मिलाउन ढिलाइ भइसकेको भन्दै शर्माले एनआरएनए समृद्ध नेपाल निर्माणको बलियो साझेदार हुन चाहेको बताए ।
एनआरएनएको ११ औँ विश्व सम्मेलन यही अक्टोबर १७ देखि २० सम्म काठमाडौँमा हुँदैछ।




