माथिल्लो मैलुङ खोलाको आइपिओ खुल्यो, कति कित्ताका लागि दिने आवेदन ?

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले सर्वसाधारणका लागि आज (बिहीबार) देखि आइपिओ निष्कासन गरेको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको हो ।

कम्पनीले जारी पुँजी १ अर्ब रुपैयाँको १५ प्रतिशतले हुन आउने १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता सेयर सर्वसाधारणमा निष्कासनका लागि छुट्याएको थियो।

सोमध्ये १० प्रतिशतले हुन आउने १ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका १ लाख ५० हजार कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गरिसकेको छ।

त्यसैगरी, सोमध्ये ७५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरी बाँकी रहेको ९ हजार २०० कित्ता सेयर सहित कुल १२ लाख ८४ हजार २०० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री गरेको हो। सो आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

उक्त आइपिओमा असोज २२ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयसम्म सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा बिक्री अवधि कात्तिक २ गतेसम्म लम्बिनेछ। कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी इस्युअर रेटिङ’ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङले निर्माण गरेको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *