युवा तथा साना व्यवसायी स्वरोजगार कोषले विगत १३ वर्षमा स्वरोजगारका कार्यक्रम सञ्चालन गर्न ११ अर्ब लगानी गरेको छ । कोषले स्थापनाको १३ वर्षमा विभिन्न स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गर्न ११ अर्ब ९ करोड ४८ लाख ३५ हजार रुपैयाँ लगानी गरेको हो ।
कोषले यो अवधिमा ८३ हजार युवालाई स्वरोजगार बनाएको जानकनरि दिएको छ । यसमध्ये विपन्न वर्ग कर्जाअन्तर्गत तीन अर्ब ८२ करोड दुई लाख ८३ हजार लगानी गरेको कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले जानकारी दिए । उनले यो अवधिमा कोषले एक हजार ९ सय ६८ सहकारी संस्था, २६ बैंक तथा वित्तीय संस्थामा लगानी गरेको जनाए । यसैगरी कोषले १३ हजार ७ सय ६५ व्यवसायीको ब्याज अनुदानअन्तर्गत १५ करोड ३३ लाख ५ हजार रुपैयाँ वितरण गरेको थियो । यसैगरी कर्जा व्यवस्थापन शुल्कअन्तर्गत ३८ हजार लाभग्राही व्यवसायी रहेकोमा सो शीर्षकअन्तर्गत एक करोड ९० लाख ६९ हजार पाँच सय कर्जा व्यवस्थापन भुक्तानी गरेको बताएको छ । यसैगरी एक हजार ६१ व्यवसायीको बिमा क्षतिपूर्तिवापत ६ करोड २४ लाख ४५ हजार रुपैयाँ तिरेको बताएको छ ।
श्रम र सीपलाई सदुपयोग गरी देशको विद्यमान बेरोजगारी समस्याको समाधानाका लागि बेरोजगार युवालाई स्वरोजगारका अवसर सृजना गर्ने उद्देश्यले नेपाल सरकारले प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन, २०६३ अनुसार २०६५ सालमा यो कोष स्थापना गरिएको थियो । कोषले नेपाल सरकार तथा अन्तर्राष्ट्रिय संघ संस्थाबाट रकम प्राप्त गरी परिचालन गर्नसक्ने कोषको स्थापना गरिएको हो । कोषले पुँजीको अभावमा आफ्नो सीप, ज्ञान र प्रतिभा उपयोग गर्न नपाएका बेरोजगार १८ देखि ६० वर्ष उमेरका युवा तथा साना व्यवसायीलाई बिनाधितो सुलभ कर्जा उपलब्ध गराउँदै आएको छ ।