काठमाडौं । हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिरमा व्रतालु महिलाहरुको भीड लागेको छ । उनीहरु पूजापछि नाचगान गर्दै रमाइरहेका छन् ।
हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीज पर्वमा व्रत बसी शिवको पूजा गरे सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ । अविवाहित महिलाले राम्रो पति पाउने कामनासहित र विवाहित महिलाले परिवार र श्रीमानको दीर्घायू होस् भन्ने कामनासहित व्रत बसेर शिवको पूजा गर्ने चलन छ ।
सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । विश्वासका साथ काठमाडौंको पशुपतिनाथ, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर लगायत देशभरका शिव मन्दिरहरुमा पूजा गर्ने व्रतालुहरुको बिहानैदेखि घुइँचो लागेको छ । दर्शनार्थीहरुको सुविधाका लागि पशुपतिनाथ मन्दिरका ढोका बिहान ३ः०० बजेदेखि नै मन्दिरको चारैवटा ढोका खुला गरिएको थियो । व्रतालुहरु त्यसभन्दा अघिदेखि नै लाइनमा लागेका थिए । पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख एवं सूचना अधिकारी गौरीशङ्कर पराजुलीले जानकारी दिए ।
अर्थ सन्जाल