काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ। आज नेप्से सूचक १९.४२ अंकले घटेर १९६७.५७ को विन्दुमा झरेको छ।
त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक २.५ अंकले घटेर ३७९.१४ को विन्दुमा ओर्लेको छ। कारोबार रकम १ अर्ब १३ करोड रुपैयाँको भएको छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १२ वटामा रातो पोतिएको छ भने एउटामा मात्रै हरियाली छाएको छ। आज नेप्सेमा सूचीकृतमध्ये २७६ कम्पनीका ३९ लाख १६ हजार १६१ कित्ता सेयर १ अर्ब १३ करोड ५० लाख ५७ हजार ५१५.५१ रुपैयाँमा किनबेच भएका छन्।
त्यसैगरी, होटेल तथा पर्यटन समूह सर्वाधिक १.९८ प्रतिशतले ओरालो लागेको छ। वित्त समूहमा १.९२ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.४३ प्रतिशत, विकास बैंक समूहमा १.४४ प्रतिशत, जलविद्युत समूहमा १.५६ प्रतिशत, लगानी समूहमा १.३१ प्रतिशत, जीवन बीमा समूहमा ०.९९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.०८ प्रतिशत, लघुवित्त समूहमा १.४० प्रतिशत, निर्जीवन बीमा समूहमा १.४० प्रतिशत, अन्य समूहमा ०.२४ प्रतिशत र व्यापार समूहमा ०.७८ प्रतिशतको गिरावट आएको छ।
आज म्युचुअल फन्ड समूह मात्रै ०.०४ प्रतिशतले उकालो लागेको छ।
त्यसैगरी, नेपाल एसबीआई बैंकको सर्वाधिक ७ करोड ५६ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
शिवम सिमेन्टको ६ करोड ३५ लाख रुपैयाँ, एभरेस्ट बैंकको ४ करोड ५५ लाख रुपैयाँ, आईएमई लाइफको ३ करोड २९ लाख रुपैयाँ, सोल्टी होटेलको २ करोड ९८ लाख रुपैयाँ, एसटीसीको २ करोड ६१ लाख रुपैयाँ, नबिल बैंकको २ करोड ४८ लाख रुपैयाँ, हिमालयन लाइफ इन्स्योरेन्सको २ करोड ४६ लाख रुपैयाँ, नेसनल लाइफ इन्स्योरेन्सको २ करोड २३ लाख रुपैयाँ र हिमालयन डिस्टिलरीको २ करोड १७ लाख रुपैयाँ बढीको सर्वाधिक कारोबार भएको छ।







