कर बढाएको विरोधमा बर्दियाको राजापुर नगरपालिकामा तालाबन्दी

बर्दिया । बर्दियाको राजापुर नगरपालिकाले लगाएको एकिकृत सम्पत्ति करप्रति असन्तुष्टि जनाउँदै विभिन्न राजनीतिक दलले पालिका कार्यालयमा तालाबन्दी गरेका छन् । नगरपालिकाले आम नागरिकको चाहाना विपरित अत्यधिक कर बृद्धि गरेको भन्दै विरोधमा उत्रिएका उनीहरुले राजापुर बजार समेत बन्द गरेका छन् ।

शुक्रबार नेपाली काँग्रेस, नेकपा एमाले, राप्रपा, नागरिक उन्मुक्ती, नेकपा एस, राष्ट्रिय जनमोर्चा र क्रान्तिकारी नेकपाले तालाबन्दीसँगै बजार बन्द गरेका हुन् । नागरिकको बेवास्ता गर्दै मनोमानी ढंगले नगरपालिकाले चर्को कर असुलेको दलहरुको आरोप छ ।

भदौ १५ गते वडा कार्यलयहरु घेराउ १८ गते नगरपालिका घेराउ लगायतका शान्तिपूर्ण बिरोधका कार्यक्रम गरेपनि नगरपालिकाले सुनुवाई नगरेपछि थप आन्दोलन घोषणा स्वरुप नगरपालिकामा तालाबन्दि गरिएको एमाले बर्दियाका उपसचिव पहाडी थारुले बताए ।

गत बर्षको तुलनामा यस बर्ष ६ सय प्रतिशत भन्दा बढि करमा बृद्धि भएको स्थानीयले गुनासो छ । राजापुर नगरपालिका ४ का मधुवाला थारुले गत वर्ष ६ सय २५ कर तिरेका थिए तर यस वर्ष उनले १० हजार ४६ रुपैयाँ कर तिरेका छन् ।

यता राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारुले अन्य पालिकाको तुलनामा राजापुर नगरपालिकाले न्यून कर लिएको दावी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *