काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडको आईपीओ आउँदो आइतबार (भदौ २४ गते) बाँडफाँट गरिने भएको छ। धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार कम्पनीको आईपीओ बाँडफाँटगर्न लागिएको हो ।
सीडीएससीका अनुसार यो आईपीओमा अन्तिम दिन साँझसम्म ९ लाख ८० हजार ५३ आवेदकबाट १ करोड ६ लाख ९५ हजार ३३० कित्ता सेयर माग भएको छ । जुन मागभन्दा ८.८७ गुणाले बढी हो।
मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँट हुने निश्चित भएको छ। जसअनुसार भाग्यमानी १ लाख २० हजार ५३२ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन् । यस हिसाबले यो आईपीओमा साढे ८ लाख बढीको हात खाली हुने देखिएको छ।
कम्पनीले गत भदौ १० गतेदेखि भदौ १३ गतेसम्म सर्वसाधारणका लागि प्रिमियममा आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल १३ लाख ६ हजार ३०६ कित्ता आईपीओ बिक्री खुला गरेको थियो। यसमा आयोजना प्रभावित स्थानीयका लागि जारी आईपीओमा बिक्री नभएको ७९ हजार ३० कित्ता सेयर थपिएको थियो।
यो आईपीओमा कम्पनीले प्रतिकित्ता १०६ रुपैयाँ प्रिमियम थप गरेको थियो । यसको अर्थ सर्वसाधारणले आईपीओ भर्दा प्रतिकित्ता २०६ रुपैयाँ तिरेका छन्।
सर्वसाधारणका लागि जारी गरिएको कुल कित्तामध्ये कम्पनीले कर्मचारीलाई २८ हजार ८५३ कित्ता र सामूहिक लगानी कोषलाई ७२ हजार १३३ कित्ता छुट्याएको थियो। बाँकी १२ लाख ५ हजार ३२० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।







