भगवती हाइड्रोपावरको आईपीओमा आवेदनको ओइरो

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले निष्काशन गरेको आईपीओमा दोश्रो दिनसम्म ११.२१ गुणा बढी आवेदन परेको छ। सिडिएससीका अनुसार बुधबार ५ बजेर ६ मिनेटसम्ममा ७ लाख ७२ हजार ३५४ आवेदकले ८६ लाख ६० हजार १५० कित्ताको लागि आवेदन दिएका हुन्।

कम्पनीले जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको १५ प्रतिशत अर्थात ८ करोड ५८ लाख ९ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता कुल ११६ रुपैयाँमा ८ लाख ५८ हजार ९७ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो ।

उक्त आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। लगानीकर्ताहरुले भदौ ८ गतेसम्म आवेदन दिन सक्नेछन् । ढिलोमा भदौ १९ गतेसम्म आवेदन दिन सकिनेछ ।

आइपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपि त्रीपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *