काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको अन्त्यसम्म संस्थाको नाफा २१.२८ प्रतिशतले बढेको छ । यो अवधिसम्म ३३ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष सोही अवधिमा संस्थाले २७ करोड ९९ लाख रुपैयाँमात्र नाफा आर्जन गरेको थियो ।
संस्थाको सञ्चालन मुनाफा १०.६९ प्रतिशतले घटेर ५२ करोड ५० लाख रुपैयाँ भएको छ । अघिल्लो वर्ष यस्तो मुनाफा ५८ करोड ७९ लाख रुपैयाँमा सीमित थियो ।
संस्थाको खुद ब्याज आम्दानी ८.१९ प्रतिशतले घटेर १ अर्ब ५५ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब ६९ करोड रुपैयाँ थियो ।
संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर ८.६६ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यही अवधिसम्म एनपीएल ५.८८ प्रतिशत थियो । खराब कर्जा बढ्दा संस्थाको ३५ करोड २७ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको छ । अघिल्लो वर्ष यस्तो चार्ज ७३ करोड ९१ लाख रुपैयाँ छुट्याएको थियो।
समीक्षा अवधिसम्म संस्थाले १२ अर्ब ८० करोड रुपैयाँ निक्षेप संकलन गरी १८ अर्ब २९ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष ११ अर्ब ९९ करोड रुपैयाँ निक्षेप संकलन गरी १८ अर्ब ८८ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।
चुक्तापुँजी १ अर्ब २९ करोड रुपैयाँ रहेको संस्थाको जगेडा कोषमा १ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी (ईपीएस) बढेर २६.३१ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस २४.९४ रुपैयाँ थियो। पीई रेसियो ३४.२३ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ २५२.४६ रुपैयाँ रहेको छ।




