विराटनगर । उच्च अदालत विराटनगरले धरान उपमहानरपालिकाका मेयर हर्कराज राई ‘सम्पाङ’लाई सर्दु जलधारा क्षेत्रको व्यक्तिले भोगचलन गर्दै आएको जग्गामा वृक्षरोपण नगर्न अन्तरिम आदेश दिएको छ । धरान ४ की रोजिना अधिकारीले दायर गरेको रिटमा सुनुवाइ गर्दै उच्चका न्यायाधीश मिलन राईको इजलासले अधिकारीले भोगचलन गरिरहेको जग्गामा अनधिकृत रूपमा प्रवेश नगर्न र विरुवा नरोप्न आदेश दिएको हो ।
अघिल्लो शनिबार मेयर साम्पाङले धरानको साविक बाँझगरा गाविस ९ (ग) कित्ता नम्बर ४२१ र ३४५ को जग्गामा वृक्षरोपण गरेका थिए । रोजिना अधिकारीको नाममा धनीपुर्जा रहेको जग्गामा गएर वृक्षरोपण गर्न थालेपछि जग्गाधनी र वृक्षरोपण गर्न पुगेको मेयर साम्पाङ नेतृत्वको टोलीबीच तनावको स्थितिसमेत उत्पन्न भएको थियो ।
आफूले भोगचलन गरिरहेको जग्गा कब्जा गरी वृक्षरोपण गरेपछि अधिकारी उच्च अदालत गएकी थिइन् । उनले दिएको रिट निवेदनको सुनुवाइ गर्दै न्यायाधीश राईको इजलासले यसमा के कसो भएको हो, निवेदकको मागबमोजिम आदेश किन जारी नहुनु पर्ने हो १५ दिनभित्र अदालतमा हाजिर हुन मेयर साम्पाङलाई आदेश दिएको छ ।




