

दमौली । तनहुँका १० स्थानीय तहमध्ये २ स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट, नीति तथा कार्यक्रम पारित गरेका छन् ।
असार १० गते एकैदिन ४ नगरपालिका र ६ गाउँपालिकाले बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेकामा भिमाद नगरपालिका र म्याग्दे गाउँपालिकाले बजेट पारित गरेका छन् । अन्य ८ स्थानीय तहको बजेट पारित हुन बाँकी छ ।
भिमाद नगरपालिकाले आगामी वर्षका लागि ६३ करोड ८९ लाख ५६ हजार ८७० रुपैयाँको बजेट पारित गरेको छ । पारित बजेटमध्ये चालूतर्फ ४३ करोड ९८ लाख ५६ हजार र पूँजीगततर्फ १९ करोड ९१ लाख विनियोजन गरिएको छ ।
नगरपालिकाका उपप्रमुख शारदा खनालका अनुसार सामाजिक विकासतर्फ ३४ करोड ६३ लाख, पूर्वाधार विकासतर्फ १३ करोड ३७ लाख, सुशासन तथा अन्तरिकतर्फ १ करोड ३२ लाख र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च १० करोड ८९ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
आम्दानीतर्फ आन्तरिक स्रोतबाट १ करोड ८० लाख, राजस्व बाँडफाँटबाट १३ करोड ५० लाख ३५ हजार ७००, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट ४४ करोड ७९ लाख १३ हजार, प्रदेश सरकारमार्फत २ करोड ८७ लाख १३ हजार आम्दानी हुने अनुमान गरिएको छ । नगरपालिकाले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर नीति, कार्यक्रम र बजेट बनाएको नगर प्रमुख दधिराज सुवेदीले जानकारी दिए ।
म्याग्दे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ५५ करोड ५३ लाख ५० हजार रुपैयाँको बजेट पारित गरेको छ । गाउँपालिकाले चालुतर्फ २१ करोड ५३ लाख ८५ हजार र पूँजीगततर्फ ३२ करोड ५७ लाख ८२ हजार बजेट विनियोजन गरेको उपाध्यक्ष बालकृष्ण घिमिरेले जानकारी दिए । जसमध्ये चालूतर्फ ३८ दशमलव ७८ प्रतिशत र पुँजीगततर्फ ५८ दशमलव ६६ प्रतिशत बजेट विनियोजन गरिएको छ । गाउँपालिकाले चालुतर्फभन्दा विकासतर्फ प्राथमिकताका साथ बजेट विनियोजन गरेको छ ।
आम्दानीतर्फ संघीय सरकारबाट वित्तीय समानीकरणबाट ९ करोड, सशर्त अनुदानबाट ८० लाख, राजस्व बाँडफाँटबाट ३२ लाख, विशेष अनुदानबाट १ करोड ५ लाख, समानीकरणबाट ५० लाख प्राप्त हुने अनुमान गरिएको छ ।

अर्थ सन्जाल