बजेट पारित भएपछि सीके राउतले लेखे : यो संसद नभएर नाटकघर मात्रै हो

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले सांसदहरुले एक महिनासम्म संसदमा आफैंले विरोध गरेको बजेट अन्तिममा ताली पड्काएर पारित गरेको भन्दै अरु दलको आलोचना गरेका छन् ।

बजेट पारित भएपछि फेसबुकमा स्टाटस लेख्दै जनमत पार्टी अध्यक्ष सीके राउतले संसदमा जनता झुक्याउनका लागि मात्र सांसदहरुले बजेटको विरोध गरेको टिप्पणी गरे । १५ जेठमा अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसदमा पेश गरेको बजेट बुधबार बहुमतले पारित भएको छ ।

‘एक महिनादेखि घोर विरोध गरिरहेको, जनता र गरीब विरोधी घोर असमान बजेटलाई, ताली पड़काएर सांसद्हरूले आफैंले पारित गरे । जसपा, लोसपा, नाउपा र स्वतन्त्र सांसद्हरूले मात्रै पनि ताली बजाएर मत नदिएको भए यो मधेश र जनता विरोधी बजेट आज पारित हुने थिएन, संसद्को गरिमा रहनेथ्यो, एक महिना छलफलको सार्थकता रहनेथ्यो, सांसद्को मर्यादा रहनेथ्यो’ राउतले भनेका छन् ।

उनले लेखेका छन्, ‘…तर दुर्भाग्य । सांसद्हरूको विरोध त फगत जनतालाई झुक्याउनलाई गरिएको नौटंकी न हो। यो संसद् नभएर नाटकघर मात्रै हो ।’

आफूहरुले सिद्धान्तको राजनीति गरेको भन्दै उनले लेखेका छन्,  ‘योभन्दा अगाडि पनि सिद्धान्तमा अडिग रहेर उपराष्ट्रपतिको निर्वाचनमा महिला उम्मेदबारलाई अघि बढाउँदा हामीले सरकारबाट बहिर्गमन हुनुका साथै ठूलो मूल्य चुकाउनु परेको थियो र प्रहरी प्रशासनको प्रताडना झेल्नु परेको थियो भने अहिले पनि हामीले ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ, ठूलो यातना पनि भोग्नु पर्ने हुन्छ ।’

विवादका बीच प्रतिनिधिसभा बैठकमा पहिलो पटक मत विभाजन प्रक्रियाबाट बजेट पारित गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको माग अनुसार आर्थिक वर्ष २०८०/०८१ को विनियोजन विधेयक (बजेट) पारित गर्नका लागि मतविभाजन गरिएको थियो ।

बजेटका विषयमा २०४७ मा बहुदलीय व्यवस्था पुनर्स्थापनापछि यसरी मत विभाजन गरिएको पहिलो अभ्यास हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *