काठमाडौं । उच्च राजनीतिक दलका नेताहरुसँग नजिकको सम्बन्ध रहेको भन्दै विभिन्न नागरिकलाई प्रभावित पारेर ठगी गरेको आरोपमा
‘शिवसुतक गौरीभक्त बाबा’ भनिने पुरुषोत्तम काफ्ले पक्राउ परेका छन् ।
काफ्लेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)को टोलीले भारतको हरिद्वारबाट पक्राउ गरी सोमबार काठमाडौं ल्याएको हो ।
काफ्लेविरुद्ध २ करोड ६९ लाख रुपैयाँ ठगेको आरोप छ । पीडितहरुबाट उजुरी आउने क्रम जारी रहेकाले उनले ठगेको रकमको परिणाम थप बढ्ने सीआईबीले जनाएको छ ।
काफ्लेले विभिन्न नेताहरु, नेपाल प्रहरीका बहालवाला तथा पूर्व अधिकृत लगायतसँग खिचेको फोटो देखाएर विभिन्न व्यक्तिहरुका काम गराइदिने भन्दै रकम असुल्ने गरेको पाइएको सीआईबी स्रोतले बतायो । उनीविरुद्ध उजुरी परेपछि प्रहरीले खोजी सुरु गरेको थियो । प्रहरीले उनलाई भारतको उज्जैन, जयपुर हुँदै हरिद्वारसम्म पछ्याएर नियन्त्रणमा लिएको हो ।




