


आगामी आर्थिक वर्षको बजेटमार्फत आलु र प्याजमा कर बढाइएकोप्रति सांसदलहरुले अर्थमन्त्रीमाथि प्रश्नैप्रश्न तेर्याएका छन् । बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ सोमबारको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले दिएपछि प्रतिप्रश्न गर्दै दैनिक उपभोग्य वस्तु आलु र प्याजमा कर बढाइएकोप्रति सांसदहरुले आपत्ति जनाएका हुन् ।
अर्थमन्त्री महतलाई प्रतिप्रश्न गर्दै नेकपा एमालेका सांसद रघुजी पन्तले बजेट प्रस्तुत भएपछि आलु र प्याजको भाउ अत्यधिक वृद्धि भएकोमा आपत्ति प्रकट गरे । ‘अर्थमन्त्रीले बजेट पेश गर्नुअघि बजारमा प्याजको भाउ ५० थियो । हिजो ८५ पुग्यो र आज १०० नाघ्यो । आलुका भाउमा २० देखि २५ प्रतिशत वृद्धि भएको छ । तर नेपाली किसानले उत्पादन गरेका गोलभेडा अझै बारीमा कुहिएको छ’, उनले भने, ‘अर्थमन्त्री ज्यू, अब बजेट प्रस्तुत गर्नुअघिको भाउमा आलु र प्याज कहिले पाइन्छ ?’
यस्तै रास्वपा सांसद शिशिर खनालले आलु र प्याजमा लगाइएको भ्याटको विषय उठाए । ‘हिजो कालिमाटीमा प्याजको मूल्य ३५ थियो, आज ६० छ । सतप्रतिशत बढेको छ’, उनले भने, ‘हरेक दिन प्रयोग गर्ने चिजमा किन कर बढाइयो ?’
यसैगरी नेकपा एकीकृत समजावादीका सांसद राजेन्द्र पाण्डेले आलु र प्याजमा लगाइएको भ्याटबारे लगत तर्क गरेको बताए । ‘अर्थमन्त्रीले आलु र प्याजमा भ्याट लगाउनुभयो । यसबारे बोल्दै उहाँलै नेपाली उत्पादन बढाउन यसो गरिएको भन्नुभयो’, उनले प्रश्न गरे, ‘के आज भ्याट लगाउँदैमा आलु र प्याज भोलि नै भटाभट उत्पादन हुन्छ ? कुनै कार्यक्रम चाहिँदैन ?’
सांसद भवती चौधरी, जुली महतोलगायत सांसदले पनि यसप्रति अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

अर्थ सन्जाल