


काठमाडौं । नेपाल धितोपत्र बोर्ड(सेबोन) ले आफ्नो आगामी लक्ष्य तथा प्राथमिकता सार्वजनिक गरेको छ। बोर्डले ३१औँ वार्षिकोत्सवका अवसरमा आफ्ना आगामी लक्ष्य र प्राथमिकता सार्वजनिक गरेको हो ।
वार्षिकोत्सवका अवसरमा आज बोर्डले बजारको विकास तथा विस्तार गर्ने, कानुनी संरचनामा सुधार गर्ने, संस्थागत तथा नियमन क्षमता सवलीकरण गर्ने, अध्ययन तथा अनुसन्धान र लगानीकर्ता प्रशिक्षणमार्फत् स्वच्छ, प्रतिस्पर्धी एवं विश्वसनीय धितोपत्र बजार तथा वस्तु विनिमय बजारको विकास तथा विस्तार गर्ने कार्यलाई बोर्डले प्राथमिकतामा राखेको छ।
यस्ता छन् सेबानका आगामी लक्ष्य तथा प्राथमिकता
- धितोपत्र तथा वस्तु विनिमय बजारको विकास गरी आईओएससीओको मापदण्डअनुरुपको बनाउँदै लैजाने ।
- लगानीकर्ताहरुको हकहित संरक्षणका लागि धितोपत्रसम्बन्धी कानुनविपरीत कार्य गर्ने संस्था तथा व्यक्तिलाई कारबाहीको दायरमा ल्याउने ।
- बोर्डबाट सम्पादन गरिने कार्यहरुलाई उच्च प्रविधियुक्त तथा सूचना प्रविधिमैत्री बनाई छिटोछरितो सेवा प्रवाह गर्ने एवं विद्यमान जनशक्तिको क्षमता विकासका लागि उच्चस्तरीय तालिम प्रदान गर्ने साथै भौतिक पूर्वाधार विकास गर्ने ।
- विश्वस्तरीय प्रविधि एवं प्रविधि सञ्चालनमा चाहिने जनशक्ति तयार गरी सुपरिवेक्षण प्रणालीलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित रेगटेकमार्फत चुस्त–दुरुस्त बनाई बजारमा चलखेल एवं अनुचित क्रियाकलापलाई निरुत्साहन गर्ने ।
- -बोर्डमा धितोपत्र दर्ता तथा अनुमतिका लागि पेस भएका निवेदनहरुलाई मिरेट बेस्ड फाइल अप्रुभल सिस्टमका आधारमा प्रक्रिया अगाडि बढाउने ।
- बुक बिल्डिङ प्रणाली दिगो एवं पारदर्शी रुपमा सञ्चालनमा ल्याउनका लागि अन्तर्राष्ट्रिय रुपमा प्रयोगमा रहेको अटोमेटेड इलेक्ट्रोनिक अक्सन सिस्टम तयार गरी दिगो र स्थापित वास्तविक क्षेत्रका कम्पनीहरुलाई धितोपत्र बजारमा भित्र्याउने ।
- सार्वजनिक निष्कासनमा स्वच्छ तथा पारदर्शी प्रणाली लागू गरी ठूलठूला युलिलिटी कम्पनीहरु र व्यावसायिक रुपमा सफल तथा स्थापित अन्य कम्पनीहरुलाई धितोपत्र बजारमा सूचीकरण गराई सीमा सर्वसाधारणको स्वामित्व बढाउनुका साथै बजार विस्तार तथा सन्तुलन मिलाउने ।
- पर्याप्त पुँजी नभएका उद्यमी तथा नवप्रवर्तकका लागि प्राईभेट इक्विटी तथा भेञ्चर क्यापिटलको माध्यमबाट पुँजी तथा व्यवसयिक ज्ञान परिचालन गर्न सक्ने गरी अनुमतिपत्र प्रदान गरी समग्र अर्थतन्त्र चलायमान बनाउने ।
- -साना तथा मझौला उद्यमहरुको धितोपत्र कारोबारका लागि एसएमईज प्ल्याटफर्मका लागि आवश्यक कानुनी व्यवस्था मिलाई व्यवसायिक कृषिजन्य उद्यमलाई पुँजीबजारमा आबद्ध गर्ने ।
- वस्तु विनिमय बजार सञ्चालन व्यवस्था मिलाउने ।
- बजारको प्रभावकारी नियमन, सुपरिवेक्षण तथा व्यवस्थापनका लागि आवश्यक कानुनी संरचनाको विकास तथा सुदृढीकरण गर्ने ।
- बजार सहभागीहरुको व्यवसायिक तथा कार्य क्षेत्र एवं स्तर अभिवृद्धि गर्ने ।
- प्रदेशस्तरमा धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी जनचेतना अभिवृद्धिसहित समष्टिगत वित्तीय साक्षरता सुदृढ गर्दै जाने ।
Artha Sanjal

अर्थ सन्जाल