काठमाडौं । पाँच खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय महिला टी–ट्वान्टीमा घरेलु टोली मलेसियामाथि नेपाल विजयी भएको छ । बिहिबार भएको खेलमा नेपालले मलेसियालाई २७ रनले हराएको हो । जितसँगै नेपालले २–१ को अग्रता लिएको छ ।
नेपालले दिएको १ सय ११ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ८३ रन मात्र बनायो । मलेसियाका लागि महिराह इज्जाती इस्माइलले ५४ बलमा ६ चौकाको सहयोगमा सर्वाधिक ४४ रन बनाईन् ।
विनिफ्रेड दुराईसिंघमले ३८ बलमा २० रन बनाउँदा मलेसियाका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि सिताराना मगर, इन्दु बर्मा र कविता कुँवरले समान १/१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय १० रन बनाएको थियो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले १५ बलमा ३ चौका र १ छक्काको सहयोगमा सर्वाधिक २७ रन बनाईन् ।
सिताले ३५ बलमा २१ रन बनाउँदा ज्योतीले २४ बलमा ३ चौकाको सहयोगमा २३ रन बनाईन् । इन्दु बर्माले ३० बलमा २० रन बनाउँदा इन्दु रावल ३ तथा कविता जोशी १ रनमा अविजित रहिन् ।
मलेसियाका लागि निक नुर अतिएलाले २ तथा एसा इलिसा र विनिफ्रेड दुराईसिंघमले समान १/१ विकेट लिए । नेपालले मलेसियासँग शनिबार चौथो खेल खेल्नेछ ।






