सोलुखुम्बुका कामीरिता शेर्पा २८ औं पटक सगरमाथाको चुचुरोमा पुगेका छन् । उनले विश्वकै अग्लो हिमाल सगरमाथामा सबैभन्दा धेरैपटक पुग्ने कीर्तिमान कायम गरेका छन् ।
सेभेन समिट ट्रेक्सका अनुसार कामीरिताले मंगलबार बिहान ९ बजेर २३ मिनेटमा सगरमाथाको २८औं पटक सफल आरोहण गरेको हुन् ।
सोलुखुम्बु पाङबोचेका पासाङ दावा शेर्पाले २७ औं पटक सगरमाथा चढेर कीर्तिमान बराबरी गरेपछि ५४ वर्षीय कामीरिताले आफ्नो नामको विश्व रेकर्ड कायमै राख्न २८ औं पटक सगरमाथा आरोहण गरेका हुन् ।
सेभेन समिट ट्रेक्स प्रालिका अनुसार यो सिजनमा उनको दोस्रो सगरमाथा आरोहण हो । यसअघि उनी १७ मे २०२३ मा सगरमाथाको चुचुरोमा पुगेका थिए ।
सोलुखुम्बुको थामे गाउँका कामीरिता सेभेन समिट ट्रेक्स प्रालिका गाइड हुन् । कामीमरिताले सगरमाथासँगै विश्वकै दोस्रो अग्लो हिमाल के टू, चोयू, ल्होत्से र मकालुलगायतका हिमाल आरोहण गरेका छन् ।






