निःशुल्क उपचार लिएकाहरुको विवरण महानगरमा पठाउनु : प्रमखु शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले लक्षित वर्गलाई उपलब्ध गराएको सेवाको सूचना प्रत्येक महिनाको १० गतेभित्र टाँस्न अस्पतालहरूलाई निर्देशन दिएका छन् ।

स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ ले विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शैय्याको दस प्रतिशत छुट्याइ निःशुल्क उपचार गर्नुपर्ने व्यवस्था गरे पनि त्यो नपाइएको उनले बताएका हुन् ।

मेयर शाहले आफ्नै फेसबुक पेजबाट सूचना जारी गर्दै भनेका छन्- ‘लक्षित वर्गले निःशुल्क सेवा लिएका व्यक्तिहरूको विवरण टाँस गर्न तथा महानगरमा प्रत्येक महिनाको १० गतेसम्म बुझाउन जानकारी गराउँछौं, ‘उक्त कार्य नगरेको पाइएमा काठमाडौँ महानगर पालिकाबाट नियमानुसार कारबाही हुने ब्यहोरा सम्बन्धित सबै स्वास्थ्य संस्थाहरूलाई जानकारी गराइन्छ।’

मेयर शाहले अस्पतालहरूले प्रचलित कानुन–मापदण्ड अनुसार लक्षित वर्गहरूलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन, सेवाग्राहीमैत्री सेवा प्रवाह गर्न, स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरूको प्रचलित कानुनले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन पनि निर्देशन दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *