

काठमाडौं । नेपाल राष्ट्र बैंकले चैत मसान्तसम्म १ लाख ४७ हजार भन्दा बढी ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रदान गरेको छ । सरकारले सञ्चालन गर्दै आएको ब्याज अनुदानमा सहुलियतपूर्ण कर्जा कार्यक्रमअन्तर्गत २०७९ चैत मसान्तसम्म १ लाख ४७ हजार ८ सय ७ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रदान गरेको हो । सो अवधिसम्म ऋणीहरुलाई २ खर्ब ५ अर्ब ११ करोड कर्जा लगानी रहेको राष्ट्र बैंकले जनाएको छ ।
सरकारबाट ब्याज अनुदान सुविधा उपलब्ध हुने गरी सहुलियतपूर्ण कर्जा प्रदान गर्दै आएको छ । जसअन्तर्गत कृषि तथा पशुपन्छीजन्य क्षेत्रको व्यवसाय प्रवर्द्धन गरी उत्पादन एवम् रोजगारी अभिवृद्धि गर्न, शिक्षित बेरोजगार युवाहरुलाई मुलुकभित्र रोजगारीका अवसरहरु सिर्जना गर्न, विदेशबाट फर्केका युवाहरुको विदेशमा आर्जन गरेको सिप र व्यवसायिक दक्षता उपयोग गर्दै उनीहरुलाई स्वरोजगार बनाउन, महिलामा उद्यमशील क्षमताको विकास गर्न, दलित समुदायको परम्परागत सिप र पेशालाई आधुनिकीकरण एवम् प्रवर्द्घन गरी उद्यमशीलता विकास गर्न, आर्थिक रुपमा विपन्न, सीमान्तकृत समुदाय तथा लक्षित वर्गका विद्यार्थीहरुलाई उच्च र प्राविधिक तथा व्यवसायिकशिक्षा अध्ययनको लागि तथा भुकम्प पीडित हरुको निजी आवास निर्माणका लागि बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गर्ने कर्जा प्रदान गर्दै आइरहेको छ ।
कृषि लगायतका उत्पादनशील क्षेत्र, लघु उद्यम, निर्यात र कोभिड महामारीबाट प्रभावित क्षेत्रमा प्रवाहित कर्जालाई उपलब्ध गराइएको पुनरकर्जा सुविधा २०७९ चैत मसान्तमा ५ अर्ब ७७ करोड रुपैयाँ लगानीमा रहेको छ ।

अर्थ सन्जाल