


सिटी होटल लिमिटेडले बैशाख २५ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज दिनसम्म ११ लाख बढीको आवेदन परेको छ।
सिटी होटलले कुल १६ लाख ७४ हजार कित्ता आईपीओ बिक्रीको अनुमति पाएको थियो। त्यसमध्ये १० प्रतिशतले हुन आउने १ लाख ६७ हजार ४०० कित्ता विदेशमा रहेका श्रमिकका लागि बिक्री गरिसकिएको छ।
अब ४ प्रतिशतले हुन आउने ६६ हजार ९६० कित्ता कर्मचारी र ५ प्रतिशतले हुन आउने ८३ हजार ७०० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। बाँकी १३ लाख ५५ हजार ९४० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।
धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार बिहीबार साँझ ५ बजेसम्म यो आईपीओमा ११ लाख ७ हजार २१६ आवेदकबाट कुल १ करोड २० लाख ७४ हजार ८०० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ८.९० गुणा बढी हो।
मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुने भएको छ। जसमा भाग्यमानी १ लाख ३५ हजार ५९४ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्।

अर्थ सन्जाल