बैंक तथा वित्तीय संस्थामा मर्जरको लहर : १८५ संस्थाको अस्तित्व नै गायब

काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्म २५९ बैंक तथा वित्तीय संस्थाहरु मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन् ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराएपश्चात् चैत मसान्तसम्म कुल २५९ बैंक तथा वित्तीय संस्थाहरु मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका हुन् ।

यसमध्ये १८५ संस्थाहरुको इजाजत खारेज हुन गई ७४ संस्था कायम भएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गरेको थियो । यो अवधिमा १८५ संस्थाहरुको अस्तित्व समाप्त भएको हो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा मर्जरको लहर नै चलेको छ ।

चैतसम्म कुल ७५३ स्थानीय तहमध्ये २०७९ चैतसम्म ७५२ तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् । २०७८ चैतसम्म ७५० स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका थिए ।

यस बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७९ चैत मसान्तमा ११९ रहेको छ । यसमध्ये २१ वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ६३ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७९ असार मसान्तमा ११ हजार ५२८ रहेकोमा २०७९ चैत मसान्तमा ११ हजार ६४३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *