जेठ १ गतेदेखि आईपीओ निष्काशन गर्दै अप्पर स्याङ्गे हाइड्रोपावर

काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले आगामी जेठ १ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले जारी पूँजी २२ करोड रुपैयाँको १० प्रतिशत अर्थात २ करोड २० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका २ लाख २० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो । सो आईपीओमा लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका (साविकका घनपोखरा गा.वि.स. वडा नं. १ र २, खुदी गा.वि.स. वडा नं. ३, ताघ्रिङ्ग गा.वि.स. वडा नं. ४, घेरमु गा.वि.स. वडा नं. ५, बाहुन डाँडा गा.वि.स. वडा नं. ६, भुलभुले गा.वि.स. वडा नं. ७ र ८ तथा सिमपानी गा.वि.स. वडा नं. ९) का बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ६५ लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ६५ हजार कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ। स्थानिय बासिन्दाहरुले सो आईपीओमा अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आयोजन प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा जेठ १६ गते हुनेछ भने ढिलोमा जेठ ३० गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने जेठ १६ गतेभित्र आवेदन दिनु पर्नेछ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । स्थानिय बासिन्दाले सिद्धार्थ क्यापिटल, सिद्धार्थ बैंक, कामना सेवा विकास बैंक, एनएमबि बैंक र हिमालयन बैंकका तोकिएका शाखा कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आरुबा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *