यो त ट्रेलर मात्र हो,हेर्दै जानुस् सिङ्गै फिलिम देखिन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले अब भ्रष्टाचारीहरुको फाइल खोल्न थालेको बताएका छन् । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने घटनामा प्रहरीले सुरु गरेको अनुसन्धानतर्फ लक्षित गर्दै प्रचण्डले भ्रष्टाचारको फाइल खोल्न थालेको र यो ट्रेलर मात्र भएको बताए ।

पार्टीको दलित संगठनले गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भने, ‘अब भ्रष्टाचारीहरुको फाइल खोलिन्छ । कुनै पनि हालतमा भ्रष्टाचारलाई छुट दिन सकिँदैन । अहिले त्यो प्रक्रिया सुरु भएको छ, यो ट्रेलर मात्र हो, हेर्दै जानुस् सिंगै फिल्म देखिनेवाला छ ।’

यसबीचमा सरकारमाथि घेराबन्दी र दबाव आउन सक्ने भन्दै प्रचण्डले उत्पीडित समुदायले आफूलाई साथ दिनुपर्ने बताए । ‘त्यसपछि पक्कै पनि ठुल्ठुला घेराबन्दी होलान्, ठुल्ठूला दबावहरु आउलान्, धम्कीहरु होलान्, धेरै चिजहरु हुन सक्छन् यो बीचमा’ उनले भने, ‘तर उत्पीडित वर्ग समुदाय हाम्रो श्रमजीवि समुदाय साथमा भयो भने जतिसुकै ठूलो घेराबन्दी र दबाव र धम्कीको सामना गरिनेछ ।’

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले आफूलाई ३२ सिटे भनेर हेप्ने गरिएको बताए । सरकारले गलत प्रवृत्तिका विरुद्ध दृढताका साथ काम गर्दै जाने हो भने त्यसको पक्षमा ठूलो फौज तयार हुने र भविष्यमा बहुमत ल्याउन सक्ने बताए । ‘३२ सिटे, हाम्रो नाम त्यस्तो भएको छ । एक पटक हामी फेरि गर्जियौं भने ३२ सिट बहुमत सिटमा पुग्छ र नेपाल कब्जा हुन्छ । खाली एकतावद्ध भएर गर्जिने आवश्यकता मात्र हो’, उनले भने ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *