


चितवन । वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल परिसरमा पार्कको उद्घाटन गरिएको छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले आज एक कार्यक्रमकाबीच पार्कको उद्घाटन गरेकी हुन् ।
सो अवसरमा प्रमुख दाहालले भरतपुरको निर्माण चरण सकिएपछि हरियाली प्रर्वद्धन केन्द्रित हुने बताए । प्रमुख दाहालले भरतपुर चारैतिर जंगल, दुई ठूला नदी र प्राकृतिक सौन्दर्यले भरिपूर्ण भएपनि महानगरभित्र हरियाली प्रर्वद्धन गरी सुन्दर बगैँचाको रुपमा विकास गर्न खोजिएको बताए । उनले भने “भरतपुरलाई बगैँचाको रुपमा विकास गर्न सबैभन्दा पहिले महानगरपालिका परिसरमा उदाहरणीय पार्क निर्माण गर्न लागेका छौं ।”
उनले क्यान्सर अस्पताललाई प्रतिष्ठानको रुपमा विकास गर्ने आफ्नो योजना बाँकी रहेको भन्दै अस्पतालका अध्यक्ष, पदाधिकारी लगायत सबैको तदारुकता आवश्यक हुने बताए । उनले भने, “हामीले सोचेका सबै काम पूरा हुँदै आएका छन्, अब क्यान्सर अस्पताललाई प्रतिष्ठान बनाउने सोच छ, यो पनि पूरा हुन्छ ।” अस्पतालमा भौतिक पूर्वाधारका धेरै काम भएको भन्दै उनले गुणस्तरमा सुधार गर्दै जानुपर्ने बताए । उनले भने “विगतमा धेरै गुनासा आउँथे, त्यो कम हुँदै गएको छ । अब गुनासो नआउने गरी काम गर्नुपर्छ ।” उहाले अगाडि थपे “क्यान्सरका बिरामीलाई छिटोभन्दा छिटो सेवा दिन चिकित्सक, कर्मचारी र सरोकारवालाहरुको तत्परता चाहिन्छ ।”
कार्यक्रममा अस्पतालका अध्यक्ष डा. विजयराज न्यौपानेले आफ्नो ध्यान अस्पतालको सेवालाई थप प्रभावकारी बनाउनेतर्फ गएको बताए । आफू भर्खरै नियुक्त भएर आएको चर्चा गर्दै सबै पक्षबीच छलफल गरी भएका सेवा सुविधालाई थप गुणस्तरीय बनाउन लाग्ने प्रतिबद्धता व्यक्त गरे।
अस्पतालका कार्यकारी निर्देशक डा.देजकुमार गौतमले कृषि विकास बैंकको रु.१५ लाख र क्यान्सर सेवा समाजको रु.३ लाख ५० हजारको सहयोगमा पार्क निर्माण गरिएको भन्दै यसलाई पूर्णता दिन अझै बजेटको आवश्यकता रहेको बताए । उनले भरतपुर महानगरबाट थप सहयोगको अपेक्षा गरे ।
क्यान्सर सेवा समाजका अध्यक्ष चिजकुमार मास्केले क्यान्सरका बिरामीलाई सहयोगसँगै अस्पताल परिसरमा आवश्यक पूर्वाधार निर्माणमा सहयोग गर्दै आएको बताउँदै निकट भविष्यमा नै एम्बुलेन्स सहयोग गर्ने योजना रहेको बताए ।
कृषि विकास बैंकका उपमहाप्रबन्धक प्रेमकुमार श्रेष्ठले आगामी दिनमा अस्पताललाई थप सहयोग गर्न आफूले सक्दो पहल गर्ने बताए ।
वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालको प्रशासन भवन पछाडि कृषि विकास बैँकको रु १५ लाख र क्यान्सर सेवा समाजको ३ लाख ५० हजारको लागितमा पार्क निर्माण गरिएको छ । दुई विगाहा क्षेत्रफलमा पार्क निर्माण गरिएको हो । स्थानीयसँगै अस्पतालमा उपचार गर्न आउने बिरामी र कुरुवाका लागि पार्क उपयोगी हुनेछ ।
सोही अवसरमा प्रमुख दाहाल लगायत उपस्थित अतिथि, अस्पतालका चिकित्सक कर्मचारीहरुले पार्कमा वृक्षारोपण समेत गरेका छन् ।
सोही अवसरमा नेपाल वन पैदावर उद्योग व्यवसायी महासंघले आफ्नो ३५ औं स्थापना दिवसको अवसर पारेर डस्टबिन हस्तान्तरण गरेको छ । महानगर प्रमुख दाहालले अस्पतालका अध्यक्ष न्यौपानेलाई ती डस्टबिन हस्तान्तरण गरेका हुन् ।

अर्थ सन्जाल