घोराही सिमेन्ट इण्डष्ट्रीले वैशाख १९ गतेदेखि प्रिमियममा आईपीओ निष्काशन गर्दै

घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले वैशाख १९ गतेदेखि प्रिमियममा आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी ३ अर्ब ९७ करोड १९ लाख ६०० रुपैयाँको १ प्रतिशत अर्थात ३ करोड ९७ लाख १९ हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा ३०० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४०० रुपैयाँका दरले ३ लाख ९७ हजार १९० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो। सो शेयरमा दाङ जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. १, २, ३, ४, १४, १५, १७, १८,१९, दाङ जिल्ला, बंगलाचुली गाउँपालिका वडा नं. ३, ४ र रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका वडा नं. ३, ४ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ७ करोड ५४ लाख ६६ हजार १०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँका दरले ७ लाख ५४ हजार ६६१ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले अधिकतममा १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारमा रहेका नेपालीहरुले ७ लाख ५४ हजार ६६१ कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा जेठ २ गते हुनेछ भने ढिलोमा जेठ १७ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने जेठ २ गतेभित्र आवेदन दिनु पर्नेछ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। स्थानिय बासिन्दाले हिमालयन बैंक, नबिल बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल एसबिआई बैंक, घोराही सिमेन्ट इण्डष्ट्री, प्रभु बैंक, कुमारी बैंक, एनएबि बैंक, सानिमा बैंक र ज्योति विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *