

ईङवा हाइड्रोपावर लिमिटेडले बैशाख १३ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आज (बैशाख १७ गते) अन्तिम दिन दिनसम्म करिब ११ गुणाले बढी आवेदन परेको छ । यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो।
कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १२ करोड रुपैयाँ बराबरको सेयर सर्वसाधारणमा निष्काशन गर्नका लागि छुट्याएको थियो। सोमा आयोजना प्रभावित क्षेत्रका लागि निष्काशन गरि बाँडफाँट नभएको २ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको सेयर थप गरी कुल १४ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको १४ लाख ९३ हजार १६० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।
कम्पनीले जारी पुँजीको २० प्रतिशतले हुन आउने १२ लाख कित्ता सर्वसाधारणका लागि छुट्याएको थियो। कम्पनीले कुल १२ लाख कित्तामध्ये १० प्रतिशतले हुन आउने १ लाख २० हजार कित्ता विदेशमा रहेका श्रमिकलाई बिक्री खुला गरिसकेको छ।
अब बाँकी रहेको १० लाख ८० हजार कित्ता र स्थानीयलाई बिक्री हुन बाँकी २ लाख ९३ हजार १६० थपेर कुल १३ लाख ७३ हजार कित्ता सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो। त्यसमा २ प्रतिशतले हुन आउने २९ हजार ८६३ कित्ता कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने ७४ हजार ६५८ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो । बाँकी १२ लाख ६८ हजार ६३९ कित्ताका लागि सर्वसाधारणले खरिद आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो।
सीडीएससीका अनुसार यो आईपीओमा आज साँझसम्म १२ लाख ५९ हजार ९०१ आवेदकबाट कुल १ करोड ३७ लाख ८० हजार ८०० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा १०.८६ गुणाले बढी हो।
मागभन्दा बढी आवेदक परेकै कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुने निश्चित भएको छ। जसमा भाग्यमानी १ लाख २६ हजार ८६३ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। तिनै आवेदकमध्ये ९ जनाले थप १–१ कित्ता सेयर पाउनेछन्।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

अर्थ सन्जाल