आँखुखोला जलविद्युतले २०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने

आँखुखोला जलविद्युत कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने भएको छ। कम्पनी सञ्चालक समितिको वैशाख १५ गते (शुक्रबार) बसेको बैठकले चुक्तापुँजीको १:२ अनुपातमा अर्थात चुक्तापुँजी ८० करोड रुपैयाँको २०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो।

हकप्रद निष्काशनको पूर्वस्वीकृतिका लागि विद्युत नियमन आयोगमा निवेदन पेस गर्ने निर्णय पनि कम्पनीले गरेको छ।

कम्पनीले हकप्रद बिक्रीबाट प्राप्त हुने १ अर्ब ६० करोड रुपैयाँमध्ये ९६ करोड गणेश हिमाल हाइड्रोपावर प्रालिले प्रवर्द्धन गर्न लागेको २० मेगावाट क्षमताको आँखुखोला–२ जलविद्युत आयोजनामा स्वपुँजीका रुपमा लगानी गर्नेछ । यो जलविद्युत आयोजना लगानी र प्रतिफलका हिसाबले उपयुक्त देखिएकोले लगानी गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ।

त्यसैगरी हकप्रदबाट प्राप्त हुने बाँकी रकम कम्पनीको बैंक तथा वित्तीय संस्थामा रहेको ऋण तथा अन्य दायित्व भुक्तानीका लागि उपयोग गरिने कम्पनीले जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *