


नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार भएसँगै तरलता व्यवस्थापन सहज भएको बताएका छन् । राष्ट्र बैंकको ६८ औं बार्सिकोत्सब समारोहलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।
अनाले बाह्य अर्थतन्त्र सहज बन्दै गएपनि अन्तर्राष्ट्रिय कारणले गर्दा मूल्यमा परेको दबाब अझै कायम रहेको बताए ।
गत वर्षभन्दा व्यापार घाटामा केही कमी आएको, विप्रेषण प्रवाहमा वृद्धि र पर्यटन क्षेत्रमा आएको सुधारका कारण शोधनान्तर स्थिति पनि बचतमा रहन थालेकोले अघिल्लो वर्षको तुलनामा अर्थतन्त्रको बाह्य क्षेत्रलगायत बैकिङ क्षेत्रको तरलतामा पनि सुधार आएको देखिएको उनले बताए ।
यद्यपि, विकास खर्च र कर्जा प्रवाहमा कमी आउँदा आर्थिक गतिविधिमा केही शिथिलता आउँदा सरकारको राजस्व सङ्कलनमा गिरावट आएको अधिकारीको भनाइ छ । उनले भने- ‘बाह्य क्षेत्रको सहजतासँगै बैंकिङ प्रणालीको तरलतामा सुधार भइरहेको र बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाउन थालेकाले आन्तरिक आर्थिक गतिविधि सुधार हुँदै जाने देखिन्छ ।’
उनले राजस्व चुहावट नियन्त्रणमा अपनाइएको थप सक्रियताका कारण राजस्व संकलनमा सुधार हुनेमा विश्वास व्यक्त गरे ।
नेपाली अर्थतन्त्र बढी आयात र विप्रेषणमा निर्भर रहेकोले विश्व अर्थतन्त्रको प्रभाव सामना गर्दै आन्तरिक सन्तुलन कायम राख्ने कार्य चुनौतीपूर्ण रहेको उनले बताए ।
वित्तीय स्थायित्व कायम राख्दै समष्टिगत आर्थिक स्थिरता कायम राखे कार्यमा राष्ट्र बैंक सधैं प्रतिबद्ध रहेको उनले बताए । उनले भने, ‘बैंकिङ क्षेत्रको स्रोत साधनलाई उत्पादनमूलक क्षेत्रमा उपयोग गर्नुपर्ने आवश्यकता छ ।’
उनले अर्थतन्त्रको दीर्घकालीन सुधारका लागि समग्र उत्पादन र उत्पादकत्व बढाउनेतर्फ क्रियाशील हुन सम्पूर्ण सरोकारवालालाई अपिल गरे।

अर्थ सन्जाल