


सरकारले बनाएको मिटरब्याजसम्बन्धी छानबिन आयोगले पीडितबाट उजुरी आह्वान गरेको छ । निवेदन वैशाख १७ गते देखि ३१ गतेसम्म १५ दिन भित्र दिनुपर्ने आयोगले जनाएको छ ।
मिटरब्याज पीडितको माग सम्बोधनका लागि सरकारले गत चैत २० गते तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । सो आयोगले प्रारम्भिक काम सुरु गरिसकेको र यही वैशाख १७ गतेदेखि धनुषाको जनकपुरमा कार्यालय स्थापना गरेर कार्यसञ्चालन गर्ने जनाएको छ । कार्यालय स्थापना भएसँगै मिटरब्याजीलाई कारबाहीको दायरामा ल्याउन पीडितहरुको निवेदन आह्वान गरिएको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जानकारी दिए ।
अध्यक्ष कार्कीका अनुसार पीडितहरुले आफूसँग भएका प्रमाणसहित अनलाइनबाट सिधै आयोगमा वा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन सक्नेछन् । प्रत्येक जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज पीडित सहायता कक्ष स्थापना गरिएको छ ।
सोही कक्षमा निवेदन फाराम निशुल्क उपलब्ध हुने पनि आयोगका अध्यक्ष कार्कीले बताए। निवेदन फाराम जिल्ला प्रशासन कार्यालयकै कर्मचारीले भराइ दिने प्रबन्ध गरिएको आयोगले जनाएको छ ।

अर्थ सन्जाल