चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । लामिछाने करिब ६९ भन्दा बढी प्रतिशत अर्थात् ५४ हजार १७६ मतसहित विजयी भएका हुन् ।
सत्ता गठबन्धनका तर्फबाट साँझा उम्मेदवार बनेका नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठको ११ हजार २१४ मत ल्याएका छन् । त्यसैगरी, नेकपा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत ल्याएका छन् ।
गत मंसिर ४ गते सम्पन्न निर्वाचन लामिछाने सोही क्षेत्रबाट भारी मतान्तरले विजयी भएका थिए । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका थिए । लामिछानेले ४९ हजार २६१ मत प्राप्त गर्दा श्रेष्ठले १५ हजार ९९ मत ल्याए ।
लामिछानेले गत मंसिर ४ को निर्वाचनमा भन्दा पनि बढी मत पाएका छन् । चितवन २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतदानमा ७८ हजार २७७ मत खसेको थियो ।
नागरिकता विवादमा यसअघि लामिछानेको गृहमन्त्री र सांसद पद गएसँगै चितवन २ मा उपनिर्वाचन भएको हो । सर्वोच्च अदालतको आदेशअनुसार पद गएपनि आफ्नो नागरिकता जिल्ला प्रशासन कार्यालयबाट पुनः कायम गराएसँगै उनलाई चुनाव लड्ने बाटो खुला भएको थियो ।




