दोल्ती पावर कम्पनीले सर्वसाधारणका लागि चैत २८ गतेदेखि २०८० वैशाख ३ गतेसम्म बिक्री गरेको आईपीओ आज (वैशाख ८ गते शुक्रबार) बाँडफाँट गर्दै छ ।
एनआईसी एशिया क्यापिटल लिमिटेडले दिउँसो ३ बजे काजीको किचेन बत्तिसपुतली, काठमाडौंमा आईपीओ बाँडफाँट गर्ने जानकारी दिएको हो ।
सर्वसाधारणमा बिक्री गरिएको १२ लाख ७१ हजार ८६१ कित्ता कम्पनीको आईपीओ खरीदका लागि १३ लाख ३९ हजारभन्दा बढीले १ करोड ४७ लाखभन्दा बढी कित्ता सेयर खरीद माग गरेका छन् । मागभन्दा बढी आवेदन परेकाले कम्पनीको आईपीओ गोलाप्रथाको माध्यमबाट बाँडफाँट हुनेछ । १ लाख २७ हजार १८६ जना आवेदकले १० कित्ताका दरले यो सेयर प्राप्त गर्नेछन् । बाँकी एक कित्ता सेयर भने यीमध्येकै एक जनामा थप हुनेछ ।
कम्पनीले जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको ३० प्रतिशत दरको १६ लाख ९ हजार ४५८ कित्ता सेयर आयोजना प्रभावित स्थानीयसहित सर्वसाधारणमा जारी गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा १ लाख ४१ हजार ८२० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीमा १ लाख ७ हजार २९८ कित्ता सेयर बाँडफाँट भइसकेको छ ।
स्थानीयका लागि कम्पनीले ५ लाख ३६ हजार ४८६ कित्ता सेयर बिक्री खुला गरेको थियो । स्थानीयमा वितरण हुन नसकेको बाँकी सेयरसमेत सर्वसाधारणमा थप गरी बिक्री गरिएको हो । कम्पनीका कर्मचारीका लागि छुट्याइएको सेयरसमेत बाँडफाँट गरिसकेको कम्पनीले सामूहिक लगानी कोषका लागि ६८ हजार १७ कित्ता सेयर सुरक्षित गरेको छ ।







