आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
विवरणअनुसार संस्थाको खुद नाफामा गिरावट आएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा संस्थाको नाफा ८.८१ प्रतिशतले घटेको हो ।
सस्थाले कम्पनीले गत आर्थिक वर्षमा ९ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षमा ८ करोड ६० लाखमा सीमित भएको छ ।
संस्थाको निष्क्रिय कर्जा (एनपिएल) बढ्दा इम्पेरिमेन्ट चार्ज बढेर खुद नाफा घट्न पुगेको हो । अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ०.४० प्रतिशतमा सीमित निष्क्रिय कर्जा बढेर समीक्षा अवधिमा १.३७ प्रतिशत पुगेको छ । यसकै कारण इम्पेयरमेन्ट चार्ज पनि १ करोड ९३ लाखबाट बढेर ७ करोड ३७ लाख पुगेको छ।
संस्थाको खूद ब्याज आम्दानी १६ करोड ५६ लाखबाट बढेर २१ करोड ४० लाखको उचाईमा पुगेको छ । समीक्षा अवधिमा आरएसडिसीको वितरणयोग्य मुनाफा ५ करोड ६३ लाख रुपैयाँ रहेको छ ।
यो अवधिमा आरएसडिसीले ५ अर्ब ९३ करोड सापटी लिएको छ भने ६ अर्ब ७१ करोड बढी कर्जा प्रवाह गरेको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा सापटी ३२.४२ प्रतिशत तथा कर्जा २४.६० प्रतिशतले बढेको छ ।
संस्थाको नाफा घटेसँगै वार्षिकीकृत प्रतिसेयर आम्दानीमा पनि परेको छ । अघिल्लो वर्षको यही अवधिमा संस्थाको ईपीएस १५.६२ रुपैयाँ रहेकोमा घटेर समीक्षा अवधिमा १३.१९ रूपैयाँमा सीमित भएको छ । मूल्य आम्दानी अनुपात (पीई रेसियो) ३८.५१ गुणा, तरलता अनुपात ३.७२ प्रतिशत र प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ६० पैसा रहेको छ ।
कम्पनीको चुक्तापूँजी ८६ करोड ९५ लाख रुपैयाँ रहेको छ भने ९ करोड ३३ लाख जगेडामा र रिटेन्ड अर्निङमा ६ करोड ८४ लाख रुपैयाँ सञ्चित गरेको छ ।





