चालु आर्थिक वर्ष २०७९/८० को ८ महिनामा वाणिज्य बैंकहरुले ४८ अर्ब ८३ करोड रुपैयाँ कुल नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनसार हाल सञ्चालनमा रहेका २१ वटा वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी नाफा नबिल बैंकले आर्जन गरेको छ । नबिल बैंकले यो अवधिसम्म ५ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।
त्यसैगरी बढी नाफा आर्जन गर्नेमा ग्लोबल आइएमई बैंक दोस्रो स्थानमा छ । ग्लोबल आइएमईले फागुनसम्म ४ अर्ब ३७ करोड रुपैयाँ नाफा आर्जन गरेको छ।
एनआईसी एसिया बैंक ४ अर्ब ५ करोड खुद नाफा आर्जन गर्दै तेस्रो स्थानमा छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक ३ अर्ब ४९ करोड रुपैयाँ खुद नाफा गर्दै चौथो स्थानमा रहेको छ।
राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। एनएमबि बैंकले २ अर्ब ६० करोड रुपैयाँ खुद नाफा कमाउँदा प्राइम बैंकले २ अर्ब ३९ करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ ।
राष्ट्र बैंकका अनुसार स्ट्यान्डर्ड चार्टर्ड बैंकले २ अर्ब २६ करोड रुपैयाँ, एभरेस्ट बैंकले २ अर्ब २३ करोड रुपैयाँ, प्रभु बैंकले २ अर्ब २२ करोड रुपैयाँ, नेपाल बैंकले २ अर्ब ११ करोड रुपैयाँ र कुमारी बैंकले २ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएका छन् ।
अन्य ९ वटा बैंकको नाफा २ अर्बभन्दा तल छ । सानिमा बैंक र हिमालयन बैंकले १ अर्ब ७८ करोड रुपैयाँ नाफा कमाएका छन् ।
त्यसैगरी नेपाल एसबीआई बैंकको नाफा १ अर्ब ६४ करोड रुपैयाँ रहेको छ ।
केन्द्रीय बैंकका अनुसार सिद्धार्थ बैंकले १ अर्ब ५५ करोड रुपैयाँ, माछापुच्छ्रे बैंकले १ अर्ब ४२ करोड रुपैयाँ, लक्ष्मी बैंकले १ अर्ब ३६ करोड रुपैयाँ, सिटिजन्स बैंकले १ अर्ब २५ करोड रुपैयाँ र सनराइज बैंकले १ अर्ब ८ करोड रुपैयाँ नाफा कमाएको छ ।
फागुनसम्म कृषि विकास बैंकको नाफा ४१ करोड १२ लाख रुपैयाँ रहेको छ ।







