भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आईपीओ आज दिउँसो बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले भूगोल इनर्जीको आईपीओ बाँडफाँट गरेको हो । आईपीओ बाँडफाँट कार्यक्रम काठमाडौंको बत्तीसपुतलीस्थित काजीको किचेनमा दिउँसो साढे २ बजे राखिएको थियो।
कम्पनीको सेयरमा ११ लाख ४९ हजार ५१५ जना योग्य आवेदकबाट १ करोड २३ लाख ६४ हजार ८४० कित्ता सेयरको लागि आवेदन परेको थियो । यो सर्वसाधारणको लागि निष्काशन गरेको सेयरको ९.१८ गुणा बढी हो ।
कम्पनीको सेयरमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार १ लाख ३४ हजार ६९९ जनाले १० कित्ताका दरले सेयर पाएका छन् । त्यसमध्ये पनि ३ जनाले थप १/१ कित्ता सेयर पाएका छन् । सदर आवेदकमध्ये १० लाख १४ हजार ४५२ आवेदकको हात खाली भएको छ।
कम्पनीले गत चैत २३ गतेदेखि चैत २७ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले जारी पुँजी ५४ करोड ४० लाख ५३ हजार ४०० रुपैयाँको २० प्रतिशतले १० करोड ८८ लाख १० हजार ७०० रुपैयाँबराबरको आईपीओ बिक्री खुला गरेको थियो । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १० लाख ८८ हजार १०७ कित्ता आईपीओ जारी गरेको थियो।
कुल कित्तामध्ये १ लाख ८ हजार ८११ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि तथा कर्मचारीका लागि सुरक्षित गरी बाँडफाँट गरिसकेको थियो भने ७१ हजार ९१६ कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको थियो। बाँकी १३ लाख ४६ हजार ९९३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।
आईपीओको अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धक र आईपीओ निष्कासन गर्ने कम्पनीको बेवसाइट तथा सीडीएससीको iporesult.cdsc.com.np मा गएर हेर्न सकिनेछ।







